
बान्दरगुरी, १ मार्च : अखिल असम गोर्खा छात्र संघ (आग्सु) बान्दरगुरी आञ्चलिक समितिको कार्यकारिणी सभा मिति १ मार्च २०२६ का दिन आञ्चलिक कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। सभाको सभापतित्व आञ्चलिक समितिका सभापति किरण अधिकारीले गर्नुभएको थियो भने सभाको उद्देश्य तथा कार्यक्रममाथि प्रकाश पार्ने कार्य मूल–सचिव सागर छेत्रीले गर्नुभएको थियो।
सभामा जिल्ला समितिका सचिव हेमराज क्षेत्री तथा सक्रिय कार्यकारिणी सदस्य विकास भट्टराई विशेष रूपमा उपस्थित रहनु भएको थियो। उहाँहरूले सांगठनिक विषयहरूमा महत्वपूर्ण परामर्श तथा सुझाव प्रदान गर्दै आञ्चलिक समितिको गतिविधिलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा मार्गदर्शन गर्नुभएको थियो।
सभामा विभिन्न संगठनात्मक विषयहरूमा गम्भीर तथा विस्तृत छलफल गरिएको थियो। विशेषगरी बान्दरगुरी आञ्चलिक कार्यालयको अधुरो निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्ने विषयमा प्रमुख रूपमा छलफल गरिएको थियो। निर्माण कार्यलाई व्यवस्थित तथा योजनाबद्ध ढंगले अघि बढाउँदै छिटो सम्पन्न गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको सभाले जनाएको छ।
यसैबीच, आञ्चलिक समितिका उप-सभापति युवराज न्यौपाने तथा तुलसी उपाध्यायद्वारा पेश गरिएको राजीनामा पत्रमाथि सभामा छलफल गरी औपचारिक रूपमा स्वीकृत गरिएको छ। रिक्त पदपूर्तिका लागि आञ्चलिक समितिका पूर्व सहसचिव दीपक क्षेत्री, पूर्व नेपालपाडा शाखा समितिकी सभानेत्री बबिता शर्मा तथा रितिकेश उपाध्यायलाई बान्दरगुरी आञ्चलिक समितिको कार्यकारिणी सदस्य पदमा मनोनयन गर्ने निर्णय गरिएको छ।
त्यसैगरी सभामा संगठनका विभिन्न सांगठनिक विषयहरूमा पनि गम्भीर छलफल गरिएको थियो। आगामी दिनहरूमा संगठनलाई अझ सुदृढ, प्रभावकारी तथा सक्रिय बनाउने विषयमा विस्तृत रूपमा विचार–विमर्श गरिएको बताइएको छ। संगठनात्मक एकता, सक्रियता तथा जिम्मेवारीलाई मजबुत बनाउँदै संगठनलाई थप गतिशील बनाउने विषयमा सहभागीहरूबीच सकारात्मक धारणा व्यक्त गरिएको थियो।
सभाको अन्त्यमा सभापति किरण अधिकारीले उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै संगठनको कामलाई अझ मजबुत बनाउँदै अगाडि बढ्न सबैलाई आह्वान गर्नुभएको थियो।
यसै क्रममा कार्यकारिणी सभा सम्पन्न भएपश्चात् आञ्चलिक समितिका शिक्षा सचिव कालिदास छेत्री तथा जिल्ला समितिका सदस्य विकास भट्टराईको जन्मदिनको अवसरमा सानो कार्यक्रमको आयोजना गरी जन्मदिन उद्यापन गरिएको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले उहाँहरूलाई उज्ज्वल भविष्य, उत्तरोत्तर प्रगति तथा सुस्वास्थ्यको कामना व्यक्त गर्दै हार्दिक शुभकामना व्यक्त गरेका थिए।
उक्त अवसरमा सहभागीहरूले संगठनप्रति कालिदास एन छेत्री तथा विकास भट्टराईको समर्पण, सक्रियता र योगदानको उच्च कदर गर्दै आगामी दिनहरूमा अझ ऊर्जा र प्रतिबद्धताका साथ संगठनलाई अगाडि बढाउन सफल रहनुहोस् भन्ने कामना व्यक्त गरेका थिए।
प्रतिवेदक: कालिदास छेत्री- शिक्षा सचिव, बान्दरगुरी आञ्चलिक समिति ।