
चिराङ, ८ मार्च — चिराङ जिल्ला अन्तर्गत सुनगाभा अञ्चलिक समिति मातहत रहेको देउश्री शाखा समितिको अखिल असम गोर्खा छात्र संघ (आग्सु) को १२औँ द्विवार्षिक अधिवेशन तथा प्रतिनिधि सभा आज सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय स्तरमा आयोजित उक्त अधिवेशनमा विभिन्न अतिथि, संगठनका प्रतिनिधि तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
अधिवेशनको अध्यक्षता देउश्री शाखा समितिका सभापति अनुराग तिम्सिना ज्युले गर्नुभएको थियो भने सभाको उद्देश्यको व्याख्या समितिका मूल–सचिव मिलन गिरी ज्युले गर्नुभएको थियो। कार्यक्रमको प्रारम्भमा सभापतिको आसन ग्रहणपछि सभाको औपचारिक कार्यसूचीअनुसार कार्यक्रम अगाडि बढाइएको थियो। त्यसपछि परिचय पर्व सञ्चालन गरिएको थियो, जसमा उपस्थित अतिथि, प्रतिनिधि तथा सहभागीहरूले आफ्नो परिचय प्रस्तुत गरेका थिए।
कार्यक्रमको अर्को चरणमा देउश्री शाखा समितिका मूल–सचिवद्वारा संगठनको विगत कार्यकालका गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रस्तुत प्रतिवेदनमाथि उपस्थित प्रतिनिधिहरूबीच विस्तृत छलफल पनि सम्पन्न भएको थियो। छलफलपछि सभापति अनुराग तिम्सिना ज्युले आफ्नो मन्तव्य राख्दै वर्तमान कार्यसमितिको कार्यकाल समाप्त भएको घोषणा गर्दै पुरानो समिति औपचारिक रूपमा विघटन भएको जानकारी गराउनुभयो।
त्यसपश्चात नयाँ कार्यसमिति गठनका लागि प्रतिनिधिहरूबीच छलफलपछि प्यानल प्रस्ताव प्रस्तुत गरिएको थियो। उक्त प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएपछि मिलन गिरीलाई सभापतिको रूपमा तथा जीवन नेपाललाई मूल–सचिवको रूपमा चयन गरिएको घोषणा गरियो। त्यसैगरी २१ सदस्यीय एक दरिलो नयाँ समिति पनि गठन गरिएको जानकारी दिइयो।
नवनिर्वाचित समितिमा सभापति मिलन गिरी, उपसभापति आशिष शर्मा र विराज लामा, मूल–सचिव जीवन नेपाल, सहसचिवहरू भागवत नेपाल, निकिता पोख्रेल र सनम लामा, तथा शिक्षा सचिव तुङ्गनाथ नेपाल चयन भएका छन्। अन्य सदस्यहरू समेत समेटेर २१ सदस्यीय कार्यसमिति गठन गरिएको आयोजकले जनाएको छ।
अधिवेशन कार्यक्रममा प्रमुख अतिथिहरूको रूपमा चिराङ जिल्ला समिति आग्सुका सभापति निश्चल गिरी, उपसभापति गणेश बोहरा तथा सहसचिव रञ्जन भण्डारी उपस्थित हुनुहुन्थ्यो। यसका साथै सुनगाभा अञ्चलिक समिति आग्सुका कार्यवाहक सभापति दामोदर पोख्रेल, कार्यवाहक मूल–सचिव दया लामा, उपसभापति दीपक शर्मा, संगठनिक सचिव किरण शर्मा तथा शिक्षा सचिव पराग तिम्सिना पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।
त्यस्तै असम गोर्खा सम्मेलन चिराङ जिल्ला समितिका कार्यकारी सभापति दिलमन भट्टराई, देउश्री शाखा समिति असम गोर्खा सम्मेलनका सभापति तथा मूल–सचिव, बीटीआर गोर्खा समाज चिराङ जिल्ला समितिका सभापति पूर्व लामा, शान्तिपुर शाखा समितिका सभापति तथा ABSU चिराङ जिल्ला समितिका संगठनिक सचिव लगायत अन्य विशिष्ट अतिथिहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्तिम चरणमा विभिन्न अतिथिहरूले आफ्नो मन्तव्य राख्दै नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गरेका थिए। वक्ताहरूले संगठनलाई अझ सशक्त, सक्रिय तथा विद्यार्थीहितमा समर्पित रूपमा अघि बढाउन नवनिर्वाचित नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। अन्ततः सभापतिले सभा सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो।
प्रतिवेदक: किरण शर्मा-संगठनिक सचिव,सुनगाभा अञ्चलिक समिति