
अखिल असम गोर्खा छात्र संघ (आग्सु) धेमाजी जिल्ला समितिको तेस्रो कार्यकारिणी सभा गत २४ नवेम्बर २०२५, सोमबारकाे दिन सम्पन्न भएको छ। यस सभामा धेमाजी जिल्ला समितिका सभापति सोमराज पुरीले सभापतित्व ग्रहण गर्नु भएको थियो भने मूल–सचिव दिलिप खनालले सभाको उद्देश्य प्रस्तुत गर्नुभएयो।
सभामा केन्द्रीय समितिका खेलकुद सचिव मोहन विश्वकर्माज्यूको विशेष उपस्थिति रही, उहाँले अखिल असम गोर्खा छात्र संघ,केन्द्रीय समितिद्वारा आगामी २६–२७ डिसेम्बरमा आयोजना हुन लागेको स्वर्ण जयन्ती शुभारम्भ अनुष्ठान सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। साथै छिमेकी जिल्ला भएर धेमाजी जिल्ला समितिले तन–मन–धनले सक्दो सहयोग पु–याउन अनुरोध गर्दै उहाँले सक्रिय सहभागिताको आह्वान गर्नुभयो।
सभामा धेमाजी जिल्लाका सांगठनिक गतिविधि, चुनौती तथा आगामी कार्ययोजना विषयक गम्भीर छलफल भएको थियो। जिल्लासमितिका उपदेष्टा को रुपमा श्रीमान् टिके मगर र श्रीमान् कुन्तर राईज्यूलाई चयन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरियो। साथै जिल्लाका बाँकी प्रतिनिधिहरूको चयन आगामी वर्धित कार्यकारिणी सभामार्फत गर्ने सिद्धान्त पनि स्वीकार गरिएको छ।
निर्वाचन आयोगको एस.अइ. आर. विषयमा आग्सु धेमाजी जिल्लाको भूमिका, उठाइएको प्रश्न तथा जनचासोबारे विस्तृत रूपमै समीक्षा गरियो। बसुन्धरा 3.0 योजनाअन्तर्गत धेरै म्यादीपट्टा आवेदनहरू नाकास भएको तथ्य बाहिर आएको हुँदा प्रत्येक अञ्चलिक समितिलाई आफ्ना क्षेत्रमा नाकास भएको विवरण संकलन गरी जिल्ला समितिमा पेश गर्न निर्देशन दिने प्रस्ताव पारित गरियो।
स्वर्ण जयन्ती शुभारम्भको तयारी स्वरूप धेमाजी अन्तर्गत तीनवटा अञ्चललाई लक्षित गर्दै जागरण अभियान सञ्चालन गर्न छुट्टाछुट्टै समिति गठन गरियो, जसले गाउँ–गाउँमा पुगेर जनजागरण कार्यक्रम अघि बढाउनेछ।
अन्त्यमा सभापति सोमराज पुरीले उठाइएका विभिन्न समस्या तथा कार्यान्वयनका मार्गहरूबारे टिप्पणी गर्दै सभा भङ्ग घाेषणा गर्नुभयो।
प्रतिवेदन: दिलिप खनाल — मूल–सचिव, धेमाजी जिल्ला समिति (AAGSU)