
हाफलङ, २२ फेब्रुअरी २०२६ (आइतबार): अखिल असम गोर्खा छात्र संघ, डिमा हसाओ जिल्ला समिति को कार्यकारिणी तथा वर्धित कार्यकारिणी बैठक गोरखा भवन, अपर बागेटार, हाफलङमा भव्य रूपमा सम्पन्न भएको छ। बिहान १०:०० बजेदेखि सुरु भएको उक्त बैठक जिल्ला समितिका सभापतिज्यूको मन्तव्यबाट प्रारम्भ भएको थियो। सभापतिज्यूले संगठनलाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउँदै शैक्षिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। त्यसपश्चात् जिल्ला सचिवज्यूले आफ्नो मन्तव्य राख्दै संगठनका आगामी योजनाहरूलाई योजनाबद्ध ढंगले कार्यान्वयन गर्न सबै पदाधिकारी र सदस्यहरूलाई आह्वान गर्नुभयो।
बैठकमा संगठनका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। औपचारिक रूपमा बैठक प्रारम्भ भएपछि विभिन्न विभागीय सचिवहरूले आ–आफ्ना कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण एजेन्डाहरू प्रस्तुत गर्दै विस्तृत छलफल चलाएका थिए। प्रस्तुत एजेन्डाहरू संगठनको आगामी कार्यदिशा निर्धारणमा केन्द्रित रहेको देखिन्थ्यो।
शिक्षा सचिवद्वारा प्रस्तुत एजेन्डामा विशेष गरी प्रत्येक गोर्खाली गाउँमा विद्यालय छोडेका विद्यार्थीहरूको यथार्थ विवरण संकलन गर्ने, सर्वेक्षणमार्फत त्यस्ता विद्यार्थीहरूलाई पुनः विद्यालय शिक्षामा फर्काउन प्रोत्साहित गर्ने योजना समावेश गरिएको थियो। साथै विद्यार्थीहरूमा सकारात्मक सोच र लक्ष्यप्रति प्रतिबद्धता विकास गर्न प्रेरणादायी भाषणसहित सेमिनारहरू सञ्चालन गर्ने निर्णय गरिएको छ। कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई बोर्ड परीक्षाको तयारीमा सघाउन निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्ने विषयमा समेत व्यापक छलफल गरी आवश्यक तयारी अगाडि बढाउने निष्कर्ष निकालिएको छ।
खेलकुद सचिवले जिल्लाभर सञ्चालन गरिने विभिन्न खेलकुद गतिविधिहरूबारे विस्तृत योजना प्रस्तुत गर्नुभयो। मौसमअनुसार फुटबल, भलिबल, एथलेटिक्स लगायतका खेल प्रतियोगिताहरू आयोजना गर्ने र त्यसका लागि वार्षिक खेलकुद क्यालेन्डर तयार पार्ने निर्णय गरिएको छ। यसले विद्यार्थी तथा युवाहरूलाई खेलकुदमार्फत अनुशासन, स्वास्थ्य र नेतृत्व विकासतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरिएको छ।
सांस्कृतिक सचिवद्वारा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको थियो। गोर्खा समुदायको भाषा, कला र परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लास्तरीय सांस्कृतिक महोत्सव, लोकनृत्य प्रतियोगिता तथा साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा सकारात्मक छलफल भएको छ। आगामी दिनमा सांस्कृतिक गतिविधिहरूलाई अझ सशक्त बनाउँदै युवापुस्तालाई आफ्नो मौलिक पहिचानप्रति गर्व गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य लिइएको छ।
बैठकको अन्त्यमा सभापतिज्यूले प्रस्तुत सम्पूर्ण एजेन्डाहरूलाई समयसीमाभित्र कार्यान्वयन गर्न सम्बन्धित सचिवहरूलाई निर्देशन दिनुभयो। संगठनात्मक एकता, अनुशासन र सक्रिय सहभागितामार्फत डिमा हसाओ जिल्लामा आग्सुको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै बैठक सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको थियो।
प्रतिवेदक: उज्ज्वल जैसी- सुचना एवं प्रविधि सचिव, डिमा हासाओ जिल्ला समिति।