
तामुलपुर, १ डिसेम्बर :अखिल असम गोर्खा छात्र संघ (AAGSU) अन्तर्गत तामुलपुर जिल्ला समिति द्वारा आयोजित दोस्रो द्विवार्षिक अधिवेशन गत अ. 29, 30 नवेम्बर 2दिने कार्यसुचिले कुमारीकाटा क्षेत्रको टेकियाबस्तीस्थित एन.सी. आङ्गाराकाटा प्राइमरी विद्यालयमा संगठनको गौरवलाई प्रतिबिम्बित गर्ने विशेष परिवेशमा सम्पन्न भयो। बिहानैदेखि कार्यक्रमस्थलमा स्थानीय समुदाय, विद्यार्थी, अतिथि तथा विभिन्न आञ्चलिक समितिबाट आएका प्रतिनिधिहरूको आवागमन सुरु भइसकेको थियो। कार्यक्रमको तयारी, स्वागत समाहार र सुरक्षाको व्यवस्था अत्यन्त व्यवस्थित र अनुशासित रुपमा गरिनु आयोजक समितिको प्रतिबद्धता र सक्षम व्यवस्थापनको स्पष्ट संकेत थियो।
दिनको कार्यक्रम बिहान ८ बजे अखिल असम गोर्खा छात्र संघको गौरवशाली झण्डा उत्तोलनसहित आरम्भ गरिएको थियो। झण्डा उत्तोलनले संगठनको गौरव, संघर्षको इतिहास, विद्यार्थी आन्दोलनको योगदान र समुदायको पहिचान जोगाउने अभियानलाई पुनः स्मरण गराउँदै उपस्थित सबैलाई एकताको सूत्रमा बाँध्यो। तत्पश्चात् गोर्खा छात्र आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहीद तर्पण कार्यक्रम आयोजना गरियो। यसपछि असमका अत्यन्त लोकप्रिय तथा जन–भावनासँग जोडिएको नाम ‘प्राण–कलाकार’ जुविन गार्गको तस्वीरमा पुष्पाञ्जलि अर्पण गरियो, जसले कार्यक्रमस्थललाई एकछिन भावनात्मक बनायो। कलाकारप्रति सम्मान र स्मरणको यो क्षण सहभागीहरूको हृदयमा खास छाप छोड्ने खालको थियो।
दिनको २ बजे तामुलपुर जिल्ला समितिको अन्तिम कार्यकारिणी बैठक सम्पन्न भयो। यस बैठकमा विगत दुई वर्षको कार्यावधिभर भएका गतिविधिहरू, उपलब्धि, सामना गर्नुपरेका कठिनाइ, संगठन विस्तारमा देखिएका चुनौती तथा आगामी वर्षहरूमा प्राथमिकता दिनुपर्ने कार्यसूचीबारे विस्तृत समीक्षा गरिएको थियो। सहभागीहरूले विद्यार्थी हित, शैक्षिक सहयोग, भाषा–संस्कृति संरक्षण, सामाजिक उत्तरदायित्व, तथा डिजिटलाइजेसनमार्फत संगठनलाई थप बलियो बनाउने उपायहरू विषयमा सुझाव तथा धारणा राखे। बैठक अत्यन्तै सक्रिय, सहभागी र समृद्ध छलफलसहित सम्पन्न भएको बताइएको थियो।
बेलुकी ६ बजे तामुलपुर जिल्ला समितिको प्रतिनिधि सभा सुरु भयो। प्रतिनिधि सभाको अध्यक्षता जिल्ला समितिका कार्यवाहक सभापति राजु तामाङले गर्नुभयो। कार्यक्रमको शुभ–उद्घाटन अखिल असम गोर्खा छात्र संघ (आग्सु)का केन्द्रिय सचिव जनकुमार चौहानले गर्नुभयो। उहाँले आफ्नो उद्घाटन मन्तव्यमा तामुलपुर जिल्ला समितिले विगतदेखि आजसम्म संगठनको उन्नति र विस्तारमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले विद्यार्थी आन्दोलनको आवश्यकता, गोर्खा समुदायको पहिचान संरक्षण, अधिकार अभिवृद्धि र अगालामा आग्सुको जिम्मेवारीबारे महत्वपूर्ण विचार प्रस्तुत गर्नुभयो। उहाँले नयाँ नेतृत्वले संगठनलाई नयाँ उत्साह, ऊर्जा र गतिशीलतासहित अघि बढाउने अपेक्षा पनि व्यक्त गरे।
प्रतिनिधि सभामा जिल्लाका विभिन्न आञ्चलिक समितिबाट आएका प्रतिनिधिहरूले आफ्नो–आफ्ना आभिशत प्रस्तुत गरे। स्थानीय समस्यादेखि लिएर विद्यार्थी हकहित, संगठनात्मक विस्तार, युवा सहभागिता, महिला सशक्तिकरणका विषय, तथा पहिचान–संरक्षणका मुद्दाहरूमा प्रतिनिधिहरूले खुला र गम्भीर ढंगले विचार व्यक्त गरे। प्रस्तुत बिचाररूले तामुलपुर जिल्लामा संगठनको जनसञ्जाल विस्तार, सामाजिक सेवा गतिविधिहरू, विद्यार्थी सहयोग योजनाहरू र समुदायबीच संगठनप्रतिको विश्वास मजबुत हुँदै गएको संकेत प्रदान गर्यो।
प्रतिनिधि सभाको मुख्य आकर्षण नयाँ कार्यकारिणी समिति गठन थियो। विभिन्न आञ्चलिक समितिबाट आएका प्रतिनिधिहरूको सहमति र ऐक्यबद्धताका आधारमा आगामी दुई वर्ष कार्यकालका लागि नयाँ कार्यकारिणी समिति बिना प्रतिद्वन्द्वितामा चयन गरिएको घोषणा गरियो। सर्वसम्मत रूपमा चयन भएका पदाधिकारीहरूमा टंक भट्टाराई सभापति, बुद्धि कृष्ण उप्रेती, राजेन अधिकारी र रश्मी पौडेल उप–सभापति, बिप्लव चिमरिया मूल-सचिव तथा राजु सितौला सचिव,जनक नेवार सांगठनिक सचिव, केशव खर्का प्रचार सचिव, अमिर बजगाइ शिक्षा सचिव, निकिता पैडल र शिवु सोनार सांस्कृतिक सचिव रहेका छन्। नयाँ कार्यकारिणीलाई सहभागीहरूले जोश, उत्साह र तालीले स्वागत गरेका थिए। नयाँ समितिलाई ‘सशक्त, युवा–केन्द्रित र दिगो संगठनात्मक दिशासहित’ कार्य गर्ने अपेक्षा व्यक्त गरिएको थियो।
प्रतिनिधि सभामा अखिल असम गोर्खा छात्र संघ (आग्सु) का केन्द्रीय उप–सभापति रोहित लाम्साल, केन्द्रीय संगठन सचिव दुर्गा बस्नेत, केन्द्रीय कार्यालय सचिव विकास शर्मा, केन्द्रीय सुचना एवं प्रविधि सचिव किरण खर्का तथा BTR क्षेत्रीय समितिका उप सभापति दिपेन्द्र कार्की पर्यवेक्षक को रूपमा उपस्थित हुनु भएको थियो। साथै केन्द्रीय उप–सभापति सञ्जीव चौहान, केन्द्रीय उप–सभापति राजु बजगाईं, क्षेत्रीय समितिका उप–सभापति प्रताप मगर, मूल-सचिव राजु सुवेदी, कार्यालय सचिव राजु लाम्साल लगायत प्रतिष्ठित व्यक्तित्वहरूको सम्माननीय उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रमको प्रभाव, महत्व तथा गरिमा अझै उचाइमा पुगेको अनुभव गरिएको थियो।
प्रतिनिधि सभासँगै रमाइलो तिहार बिदाइ कार्यक्रम पनि आयोजना गरिएको थियो, जसले सम्पूर्ण वातावरणलाई सांस्कृतिक र सामुदायिक रंगले भरिदियो। साँझको विशेष सांस्कृतिक कार्यक्रम कार्यक्रमको अर्को आकर्षण थियो। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार विजय दर्जी तथा लोकप्रिय स्थानीय कलाकार पुष्पा पाठकले प्रस्तुत गरेका गीत–सङ्गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतीहरूले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाए। दर्शकहरू गीतमा रमाउँदै, नृत्यमा सहभागी हुँदै, सांस्कृतिक साँझलाई अविस्मरणीय बनाउन योगदान पुर्याइरहेका दृश्यहरू निकै मनमोहक थिए।
प्रतिनिधि सभाको अन्त्यमा सहभागी प्रतिनिधिहरू तथा अतिथिहरूले कार्यक्रम अत्यन्तै सफल, अनुशासित र ऐतिहासिक रूपमा सम्पन्न भएको निष्कर्ष प्रकट गरे। नयाँ नेतृत्वप्रति विश्वास, संगठनप्रति प्रतिबद्धता र गोर्खा समुदायप्रतिको सेवा–भावना अभिव्यक्त गर्दै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको घोषणा गरियो।
प्रतिवेदन: राजु सुवेदी- मूल-सचिव, बि. टि. आर. समिति ( आग्सु)