
तिराप–जागुन, १६ नोभेम्बर : अखिल असम गोर्खा छात्र संघ तिराप–जागुन आञ्चलिक समितिको सैोजन्यमा तथा Assam Rifles को सक्रिय सहयोगमा इस पटकको 10th edition शहीद मेजर दुर्गा मल्ल जिल्ला स्तरीय फुटबल प्रतियोगिता आज आइतबारदेखि भव्य रूपमा शुभारम्भ भएको छ। प्रतियोगिताको उद्घाटन समारोहमा असम राइफल्सका मेजर अमित क्षेत्री, प्राक्तन् शिक्षक तथा प्रबुद्ध व्यक्तित्व मुकुट बरपात्र बर्गोहाइन ज्यू, स्थानीय गाउँबुढा, प्राक्तन् आग्सु कर्मी, अञ्चलका सम्मानित गणमान्य व्यक्तिहरू तथा जिल्ला समिति, आञ्चलिक समिति र शाखा समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति जनाएको थियो।
स्थानिय स्तरबाट खेलकुद विकास, युवाहरूमाझ स्वस्थ प्रतिस्पर्धा र सामाजिक एकताको सन्देश फैलाउन आयोजना गरिँदै आएको यस प्रतियोगिताले विगत नौ संस्करणझैँ यस वर्ष पनि स्थानीय समाजमा उत्साह र उमंगको वातावरण सिर्जना गरेको छ। शहीद मेजर दुर्गा मल्लको बलिदान, देशप्रेम र राष्ट्रिय चेतनालाई खेलकुदमार्फत् नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले विगत दशकदेखि निरन्तरता पाइरहेको यो प्रतियोगिता तिराप–जागुन क्षेत्रकै प्रमुख खेलकुद पहिचान बन्न सफल भएको छ। उद्घाटन समारोहका प्रमुख अतिथिहरूले खेलकुदले समाजमा एकता, मैत्री र सकारात्मक सोचको विकास गराउने बताउँदै प्रतियोगिताले स्थानीय प्रतिभाहरू उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरे।
आज सम्पन्न उद्घाटन खेलमा असम नेवार सम्मेलन र YT FC जयरामपुरबीच प्रतिस्पर्धा भएको थियो। दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे पनि अन्त्यमा YT FC जयरामपुरले २–० को विजयी नतिजा निकाल्दै पहिलो खेलबाटै आफ्नो प्रभावशाली उपस्थितिको संदेश दिएको छ। खेलको प्रारम्भदेखि नै YT FC ले बल पोजेसनमा पकड जमाएको देखिएको थियो। तीव्र आक्रमण, संगठित पासिङ र ठोस डिफेन्सका कारण उनीहरू खेलभरि नै सशक्त देखिए। असम नेवार सम्मेलनले केही अवसर सिर्जना गरे पनि फिनिसिङमा कमजोरीका कारण गोल गर्न असफल रहे।
दुई गोलमार्फत अग्रता बनाएको YT FC ले अन्त्यसम्म आफ्नो लय कायम राख्दै तीन अंक सुरक्षित गरेको हो। समर्थकहरूको उत्साहपूर्ण उपस्थितिले मैदानमा निकै रोमाञ्चक वातावरण सिर्जना गरेको थियो। खेलपछिको प्रतिक्रियामा विजयी टिमका प्रतिनिधिहरूले आगामी चरणहरूमा अझै मजबुत प्रदर्शन गर्ने विश्वस्तता व्यक्त गरे भने आयोजकहरूले निष्पक्ष, अनुशासित र प्रतिस्पर्धात्मक रूपमा सम्पूर्ण खेल सम्पन्न गराइने जानकारी दिए।
यस प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट सहभागी टिमहरू प्रतिस्पर्धामा हुनेछन्। आगामी दिनहरूमा अझै धेरै रोचक तथा प्रत्यासित खेलहरू हुने भएकाले स्थानीय खेलप्रेमी नागरिकहरूमा उत्साह बढेको छ। खेलकुदमार्फत् युवालाई सकारात्मक दिशामा उन्मुख गराउन, स्थानीय प्रतिभालाई प्रोत्साहित गर्न तथा शहीद मेजर दुर्गा मल्लप्रति कृतज्ञता प्रकट गर्न यो प्रतियोगिता महत्वपूर्ण मञ्च साबित हुँदै आएको छ।
समग्रमा, आजको उद्घाटन समारोह तथा पहिलो खेलले प्रतियोगिताको स्तर, गरिमा र उत्साहलाई झनै उचाइमा पुर्याएको छ, जसले आगामी दिनमा हुने खेलहरूलाई अझ रोमाञ्चक र प्रभावशाली बनाउने विश्वास दिलाएको छ।
प्रतिवेदन: सागर भट्टराइ-सांगठनिक सचिव, तिराप-जागुन आञ्चलिक समिति (आग्सु)
