All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #43
August 13, 2026

कामरुप महानगर जिल्ला समितिको कार्यकारिणी सभा सम्पन्न, संगठन सुदृढीकरणसहित विभिन्न महत्वपूर्ण निर्णय

📅 August 13, 2026
✍️ AAGSU
🕒 12:05 AM

गुवाहाटी, ११ अगस्त: अखिल असम गोर्खा छात्र संघ (आग्सु), कामरूप महानगर जिल्ला समितिको कार्यकारिणी सभा आज पल्टन बजारस्थित नेपाली मन्दिर, ठाकुरबारीमा सम्पन्न भयो।

संगठनलाई अझ सक्रिय, सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले आयोजित सभामा विभिन्न महत्वपूर्ण विषयमा विस्तृत छलफल तथा आवश्यक निर्णयहरू गरियो। लामो समयदेखि निष्क्रिय रहेका आञ्चलिक समितिहरूलाई पुनर्गठन गरी पुनः सक्रिय बनाउने तथा संगठनका खेलकुद र सांस्कृतिक गतिविधिहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउने विषयमा विशेष छलफल भयो।

सभामा आगामी २५ अगस्तमा अमेरीगोग आञ्चलिक समितिको आयोजनामा बलिदान दिवस मनाउने सम्बन्धमा आवश्यक तयारी तथा कार्यक्रम सञ्चालनका विषयमा निर्णयहरू गरियो। साथै, कामरूप महानगर क्षेत्रभित्र रहेका विद्यार्थीहरूको विवरण संकलन गरी उनीहरूलाई आवश्यक शैक्षिक सहयोग तथा विभिन्न अवसरहरूसँग जोड्ने उद्देश्यले Google Form मार्फत विद्यार्थीहरूको विवरण संकलन गर्ने निर्णय गरिएको छ।

विद्यार्थीहरूको शैक्षिक भविष्यलाई ध्यानमा राख्दै ADRE तथा TET परीक्षाका लागि कोचिङ सञ्चालन गर्ने विषयमा पनि गम्भीर छलफल गरिएको थियो। यसका साथै, हालै असमका विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित बाढीपीडितहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्ने विषयमा पनि छलफल भयो।

Census 2026 अन्तर्गत गोर्खा समुदायका जनमानसलाई स्व–गणना तथा जनगणनासम्बन्धी प्रक्रियामा आवश्यक सहयोग पुर्‍याउन आञ्चलिक तथा शाखा समितिहरूलाई जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत गरिएको छ।

सभाले संगठनको आगामी कार्ययोजना, विद्यार्थी हित, सामाजिक उत्तरदायित्व तथा गोर्खा समुदायको समग्र हितका लागि सबै सदस्यहरूलाई एकजुट, अनुशासित र सक्रियतापूर्वक अघि बढ्न आह्वान गरेको छ।

प्रतिवेदक : उत्तम शर्मा, सभापति-कामरूप महानगर जिल्ला समिति ।

📤 Share this story
Scroll to Top