
चिराङ, ३ मे २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) चिराङ जिल्ला समितिको कार्यकारिणी तथा बर्धित कार्यकारिणी सभा आज अखिल असम गोर्ख छात्र संघ सुनगाभा आञ्चलिक अन्तर्गत देउश्री शाखा समिति आग्सुको कार्यालयमा सभ्य र उत्साहजनक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला समितिका सभापति श्री निश्चल गिरीको सभापतित्वमा सम्पन्न उक्त सभाको सञ्चालन मुल सचिव श्री कृष्ण सुबेदीले कुशलतापूर्वक गर्नु भएको थियो।
सभाको प्रारम्भमा संगठनको उद्देश्य, मूल्य र वर्तमान अवस्थाबारे संक्षिप्त प्रकाश पार्दै अध्यक्ष गिरीले संगठनलाई अझ सशक्त, गतिशील र प्रभावकारी बनाउन सबै सदस्यहरूको सक्रियता आवश्यक रहेको कुरामा जोड दिनु भयो। त्यसपछि, मुल सचिवले विगत अवधिमा सम्पन्न गरिएका विभिन्न कार्यक्रम तथा गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्दै संगठनले हासिल गरेका उपलब्धिहरू र सामना गर्नुपरेका चुनौतीहरूबारे विस्तृत जानकारी गराउनु भएको थियो।
सभामा संगठनको वर्तमान गतिविधिहरूको समीक्षा गर्दै भावी कार्ययोजना निर्माणका विषयमा गहन छलफल गरिएको थियो। विशेषगरी, शैक्षिक उन्नयन, विद्यार्थी हितका कार्यक्रमहरू, सामाजिक सचेतना अभियान, संगठन सुदृढीकरण तथा सदस्यता विस्तारजस्ता विषयहरूलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरिएको छ। साथै, जिल्ला अन्तर्गतका सबै आञ्चलिक समितिहरूलाई अझ सक्रिय र उत्तरदायी बनाउने, नियमित बैठक तथा कार्यक्रम सञ्चालन गर्ने, र संगठनप्रति युवापुस्ताको आकर्षण बढाउने रणनीतिहरू तय गरिएको छ।
यस महत्वपूर्ण सभामा आग्सु बिटिसी क्षेत्रीय समितिका सचिव श्री नारायण उपाध्यायज्यूको विशेष उपस्थिति रहेको थियो। उहाँले संगठनलाई अझ प्रभावकारी बनाउन अनुशासन, एकता र समर्पणको भावना अपरिहार्य रहेको उल्लेख गर्दै वर्तमान परिवेशमा विद्यार्थी संगठनहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको धारणा व्यक्त गर्नु भयो।
त्यसैगरी, जिल्ला अन्तर्गतका विभिन्न आञ्चलिक समितिका सभापति, मुल सचिव तथा सल्लाहकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले आ-आफ्ना क्षेत्रका अनुभव, समस्या तथा सम्भावनाहरू प्रस्तुत गर्दै संगठनको सुदृढीकरणका लागि रचनात्मक सुझावहरू राखेका थिए। उहाँहरूको अमूल्य सुझाव, मार्गदर्शन तथा सक्रिय सहभागिताले सभालाई अझ उपलब्धिमूलक र परिणाममुखी बनाएको जिल्ला समितिका मुल सचिवले जानकारी दिनु भएको छ।
सभाको क्रममा संगठनको आन्तरिक व्यवस्थापनलाई थप सुदृढ बनाउन, कार्यविभाजनलाई स्पष्ट पार्न, तथा पारदर्शिता र उत्तरदायित्व कायम गर्न विभिन्न निर्णयहरू समेत गरिएको छ। साथै, आगामी दिनहरूमा शैक्षिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिने र संगठनको छवि अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
अन्त्यमा, जिल्ला समितिका मुल सचिव श्री कृष्ण सुबेदीले सभामा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनु भएका सम्पूर्ण पदाधिकारी, सदस्य तथा अतिथिहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नु भएको छ। उहाँले आगामी दिनहरूमा पनि सबैको साथ, सहयोग र एकताले संगठनलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ।
प्रतिवेदन: नबिन थापा- सभापति,सुनगाभा आञ्चलिक समिति।