
ओदालगुड़ी, 10 अप्रेल: अखिल असम गोर्खा छात्र संघ (आग्सु), खौराङ आञ्चलिक समितिले हालै घोषणा भएको उच्च माध्यमिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने क्षेत्रका मेधावी विद्यार्थीहरूको हौसला अभिवृद्धि गर्न विशेष सम्मान तथा शुभकामना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत समितिका पदाधिकारीहरू विद्यार्थीहरूको बासगृहमै पुगेर उनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना व्यक्त गरेका थिए, जसले कार्यक्रमलाई अझ आत्मीय र प्रभावकारी बनाएको थियो।
यस वर्ष खौराङ आञ्चलिक क्षेत्रबाट कुनाल छेत्रीले 6 वटै विषयमा लेटर मार्क सहित कुल 547 अंक (91%) प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेका छन्। त्यस्तै, अदिती छेत्रीले मातृभाषा नेपाली विषयमा पूर्ण 100 मा 100 अंक ल्याएर क्षेत्रमै गौरव बढाएकी छन्। यी दुबै विद्यार्थीको उपलब्धिलाई समितिले विशेष रूपमा प्रशंसा गर्दै सम्मान गरेको थियो।
यसै वर्षको उच्च माध्यमिक परीक्षामा खौराङ आञ्चलिक क्षेत्रबाट कुल 32 जना विद्यार्थी उत्तीर्ण भएका छन्। जसमा 10 जना प्रथम विभाग, 21 जना द्वितीय विभाग र 1 जना तेस्रो विभागमा उत्तीर्ण हुन सफल भएका छन्। समग्र नतिजाले क्षेत्रको शैक्षिक प्रगतिलाई उजागर गर्नुका साथै विद्यार्थीहरूको मेहनत र अभिभावकहरूको समर्पणलाई समेत प्रतिविम्बित गरेको देखिन्छ।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले आग्सु खौराङ आञ्चलिक समितिले प्रत्येक वर्ष खद्दा ओढाएर सम्मान गर्ने परम्परा कायम राख्दै आएको छ। यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै विद्यार्थीहरूलाई सम्मान गरिएको हो, जसले उनीहरूमा थप उत्साह र आत्मविश्वास बढाउने विश्वास लिइएको छ।
यस शुभकामना तथा सम्मान कार्यक्रममा आग्सु खौराङ आञ्चलिक समितिका शिक्षा सचिव दय ललित छेत्री र सन्तोष शर्मा को नेतृत्वमा सभापति, सचिव, जिल्ला समितिका उप–सभापति, मूल–सचिव, प्रचार–प्रसार सचिव लगायत अन्य सक्रिय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमप्रति विद्यार्थीहरूका अभिभावकहरूले उच्च प्रशंसा व्यक्त गर्दै छात्र संघको यस प्रेरणादायी पहलप्रति आभार प्रकट गरेका छन्। उनीहरूले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई अझ उच्च लक्ष्यतर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
यस प्रकारका सम्मान कार्यक्रमहरूले शैक्षिक क्षेत्रमा सकारात्मक वातावरण सिर्जना गर्नुका साथै विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रतिवेदक: नारायण छेत्री- सचिव, खौराङ आञ्चलिक समिति।