
नाग्रिजुली, ७ मे २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) नाग्रिजुली आञ्चलिक समितिद्वारा यस वर्षको उच्च माध्यमिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष अभिनन्दन तथा सम्मान कार्यक्रममार्फत सम्मान गरिएको छ। कार्यक्रममा क्षेत्रभित्र उत्कृष्ट अंक ल्याई सफलता हासिल गरेका विद्यार्थीहरूलाई घरघरमै पुगेर सम्मान प्रकट गरिएको थियो।
नाग्रिजुली अञ्चलभित्रको खातारबारी उच्च माध्यमिक विद्यालयबाट समिता तिम्सिना बहिनीले ८५.८३ प्रतिशत अंक प्राप्त गरी सम्पूर्ण नाग्रिजुली अञ्चललाई गौरवान्वित बनाएकी छन्। उनको उत्कृष्ट सफलताले क्षेत्रका अन्य विद्यार्थीहरूलाई प्रेरणा प्रदान गरेको छ। त्यसैगरी प्रितिका देवी, लिना ढकाल, अस्मिता प्रधान, प्रगति छेत्री, सावित्री सरकार तथा पुनम केरुङ बहिनीहरूले पनि ७५ प्रतिशतभन्दा बढी अंकसहित उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण हुन सफल भएकोमा आग्सु नाग्रिजुली आञ्चलिक समितिले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।
कार्यक्रम अन्तर्गत आग्सुका प्रतिनिधिहरूले विद्यार्थीहरूको निवासमै पुगेर खादा, प्रमाणपत्र तथा शुभकामना प्रदान गर्दै सम्मान व्यक्त गरेका थिए। विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताले समाजलाई सकारात्मक सन्देश दिएको भन्दै आग्सुले आगामी दिनमा पनि शिक्षा तथा विद्यार्थी हितका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
अभिनन्दन कार्यक्रममा तामुलपुर जिल्ला समिति आग्सुका सम्माननीय सभापति श्रीमान टंक भट्टराई ज्यू, जिल्ला समितिका प्रचार सचिव श्रीमान केशव खर्का ज्यू, नाग्रिजुली आञ्चलिक समितिका सम्माननीय सभापति श्रीमान रविशंकर उप्रेती , शिक्षा सचिव श्रीमान रोशन क्षेत्री लगायत आञ्चलिक समिति अन्तर्गतका विभिन्न शाखा समितिका सभापतिहरू, मूल–सचिवहरू तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले विद्यार्थीहरूको सफलताले सम्पूर्ण समाजलाई गौरवान्वित बनाएको उल्लेख गर्दै भविष्यमा अझ उच्च लक्ष्यका साथ अघि बढ्न प्रेरणा दिएका थिए।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने स्थानीय अभिभावक तथा समाजसेवीहरूले पनि आग्सुले विद्यार्थीहरूको उत्साहवर्द्धनका लागि सञ्चालन गरेको यस्तो कार्यक्रमको प्रशंसा गरेका थिए। शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्ने परम्पराले समाजमा सकारात्मक शैक्षिक वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास आञ्चलिक समितिले व्यक्त गरेको छ।
प्रतिवेदक: रविशंकर उप्रेती-सभापति, नाग्रीजुली आञ्चलिक समिति ।