
नाग्रीजुली, १ जुलाई २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) नाग्रीजुली आञ्चलिक समितिको उद्योग तथा गुवाबारी शाखा समितिको आतिथ्यमा गुवाबारीस्थित गोपीनाथ बर्दोलोई उच्चतर माध्यमिक विद्यालयको प्राङ्गणमा हाईस्कूल शिक्षान्त परीक्षा तथा उच्चतर माध्यमिक अन्तिम परीक्षामा सफलता पूर्वक उत्तीर्ण भएका प्रतिभाशाली छात्र–छात्राहरूलाई सम्मान गर्ने उद्देश्यले विशेष अभिनन्दन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व नाग्रीजुली आञ्चलिक समितिका सभापति श्री रविशंकर उप्रेतीले गर्नुभएको थियो। कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिका कार्यवाहक सभापति श्री सञ्जीव चौहान प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले सम्मानित विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आजको प्रतिस्पर्धात्मक युगमा शिक्षा नै व्यक्तित्व निर्माण, समाज रूपान्तरण तथा समुदायको समुन्नतिको सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो। अनुशासन, मेहनत र सकारात्मक सोचलाई आत्मसात् गर्दै भविष्यमा समाज र राष्ट्रको जिम्मेवार नागरिक बन्न विद्यार्थीहरूलाई उहाँले प्रेरणा दिनुभयो। साथै, विद्यार्थीहरूको शैक्षिक उपलब्धिको सम्मान गर्दै उनीहरूलाई हौसला प्रदान गर्ने यस्ता कार्यक्रमले अध्ययनप्रतिको उत्साह अझ वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा केन्द्रीय समितिका प्रचार सचिव श्री सोमराज सोनार निमन्त्रित अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। बीटीसी क्षेत्रीय समितिका मूल–सचिव श्री राजु सुवेदी निर्दिष्ट वक्ताका रूपमा सहभागी भई विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, निरन्तर अध्ययन तथा नैतिक मूल्यमा आधारित जीवनयापनको महत्त्वबारे प्रेरणादायी मन्तव्य राख्नुभयो। क्षेत्रीय समितिका उप–सभापति श्री प्रताप मगरले पनि विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आग्सुले शिक्षा क्षेत्रलाई सधैं प्राथमिकतामा राखेर कार्य गरिरहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा तामुलपुर जिल्ला समितिका सभापति श्री टंक भट्टराई तथा जिल्ला समितिका अन्य पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसैगरी नाग्रीजुली आञ्चलिक समितिका मूल–सचिव श्री मिलन पौडेलसहित सम्पूर्ण पदाधिकारी तथा कार्यकर्ताहरू, उद्योग तथा गुवाबारी शाखा समितिका सभापति, मूल–सचिव र सदस्यहरू, आञ्चलिक समिति अन्तर्गतका बुद्धिजीवी, पूर्व शिक्षक, पूर्व छात्रकर्मी, विभिन्न सामाजिक व्यक्तित्व, सम्मानित छात्र–छात्रा तथा उनीहरूका अभिभावकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
कार्यक्रमका क्रममा हाईस्कूल शिक्षान्त परीक्षा तथा उच्चतर माध्यमिक अन्तिम परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मानपत्र तथा स्मृति–चिन्ह प्रदान गरी सम्मान गरिएको थियो। वक्ताहरूले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै आगामी पुस्तालाई उत्कृष्ट शैक्षिक उपलब्धितर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको सफल आयोजनामा उद्योग तथा गुवाबारी शाखा समितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहभागीहरूले आयोजकप्रति प्रशंसा व्यक्त गरेका थिए। अन्त्यमा नाग्रीजुली आञ्चलिक समितिको तर्फबाट कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण अतिथि, अभिभावक, विद्यार्थी, सामाजिक अगुवा, स्वयंसेवक तथा उपस्थित सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
प्रतिवेदक: रविशंकर उप्रेती- सभापति, नाग्रीजुली आञ्चलिक समिति।