All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #8
December 11, 2025

स्वर्ण जयन्ती वर्ष शुभारम्भ समारोह : दुलियाजन ऐतिहासिक उत्सवका लागि तैयार

📅 December 11, 2025
✍️ AAGSU
🕒 12:01 AM

अखिल असम गोर्खा छात्र संघ (AAGSU) ले आफ्नो ऐतिहासिक, संघर्षमय तथा गौरवशाली ५० वर्षे यात्रालाई विशेष सम्मानका साथ स्मरण गर्ने उद्देश्यले आगामी २६ र २७ डिसेम्बर २०२५ मा दुलियाजनस्थित ओइल बिहुतली प्राङ्गणमा आयोजना गर्न लागेको “स्वर्ण जयन्ती वर्ष शुभारम्भ समारोह” का सम्पूर्ण तयारीहरू हाल अत्यन्त व्यवस्थित, सुचारु तथा उल्लेखनीय गतिमा अघि बढिरहेका छन्। डिब्रुगढ जिल्ला समितिको संयुक्त आतिथ्यमा हुन लागेको यस दुई दिने समारोहलाई ऐतिहासिक, भव्य र उदाहरणीय बनाउने लक्ष्यका साथ संगठनका पदाधिकारी, स्थानीय समाज, स्वयंसेवक तथा विभिन्न संघ–संस्था एकै मनले जुटिरहेका छन्।

समारोहस्थलका आधारभूत संरचना निर्माणका सबै कार्य तीव्र गतिमा सम्पन्न भइरहेका छन्। मञ्च निर्माण, ध्वनि तथा प्रकाश व्यवस्था, छाउनी तथा बस्ने सुविधा, पिउने पानी तथा स्वच्छता व्यवस्थापन, स्वास्थ्य सहायता केन्द्र, सुरक्षा व्यवस्था, आन्तरिक तथा बाह्य यातायात सञ्चालन, अभ्यागत अभिलेख–व्यवस्थापन तथा सम्पूर्ण स्थल सजावट सम्बन्धी कामहरू सम्बन्धित समितिहरूको निरन्तर समन्वयमा अन्तिम चरणमा पुगेका छन्। स्थानीय समाजका प्रतिनिधि, बुद्धिजीवी, युवा–समूह, दाताहरू तथा स्वयंसेवकहरूको सक्रिय सहयोगले तयारीहरू अझ सुदृढ र प्रभावकारी बनेका छन्।

स्वागतकारिणी समितिको नेतृत्व अध्यक्ष प्रेम बाः छेत्री ले गरिरहेका छन्। कार्यक्रम व्यवस्थापन तथा संगठनात्मक अभिलेखीकरण कार्य मूल–सचिव रत्न थापा को संयोजनमा सञ्चालन भइरहेको छ। कार्यकारी सभापति जापान थापा र प्राञ्जल शर्माको सक्रियताले सम्पूर्ण आयोजनामा आवश्यक गतिशीलता प्रदान गरेको छ। यसैगरी डिब्रुगढ जिल्ला समितिका सभापति रत्न थापा तथा मूल–सचिव दीपू घिचिङ को स्थानीय संयोजन तथा आतिथ्य व्यवस्थापनसम्बन्धी जिम्मेवारी उच्च प्राथमिकताका साथ अघि बढिरहेको छ।

दुई दिने कार्यक्रमलाई समृद्ध र अर्थपूर्ण बनाउने उद्देश्यले विविध विषयवस्तु समेटिएका छन्। २६ डिसेम्बरमा शुभारम्भीय सत्र, दीप–प्रज्वलन, अतिथि स्वागत तथा सम्मान, आग्सु को ५० वर्षे ऐतिहासिक यात्रा–स्मरण, बौद्धिक–विमर्श तथा सांस्कृतिक झाँकी रहनेछ। २७ डिसेम्बरमा गोर्खा समाजको अधिकार, पहिचान, अस्तित्व तथा भविष्य–दिशाबारे गोष्ठी, अन्तर–जिल्ला सांस्कृतिक प्रस्तुति, विद्यार्थी, खेलकर्मी तथा समाजसेवी सम्मान कार्यक्रम सहित समापन सत्र सम्पन्न गरिनेछ। सम्पूर्ण कार्यक्रमका समय–सूची, मञ्च–सूची तथा व्यवस्थापन खाका अन्तिम रूपमा तयार भइसकेका छन्।

समारोहलाई भव्य बनाउने उद्देश्यले प्रचार–प्रसार गतिविधि राज्यभरि तीव्र गतिमा सञ्चालन भइरहेका छन्। असमभरिका सबै जिल्ला समितिहरूले सामूहिक रूपमा जनसम्पर्क, सूचना–प्रसार तथा आम–जनताको सहभागिता सुनिश्चित गर्ने अभियानलाई सक्रिय रूपमा अघि बढाएका छन्। सामाजिक सञ्जाल, प्रिन्ट–मिडिया, होर्डिङ, ब्यानर, आधिकारिक सूचना सामग्री, साथै संगठनका पाँच दशक लामो संघर्ष–यात्रासम्बन्धी अभिलेख तथा दस्तावेज निर्माण कार्यहरू एकीकृत ढङ्गले सञ्चालन भइरहेका छन्। यस अभियानले भावी पुस्तामा संगठनात्मक चेतना, इतिहासको सम्मान तथा सामूहिक जिम्मेवारीबोध बलियो गर्ने उद्देश्य राखेको छ।

दुलियाजन तथा सम्पूर्ण डिब्रुगढ जिल्लावासीले देखाएको उत्साह, सहयोग र सक्रियताले समारोहको सफलताको प्रारम्भिक संकेत स्पष्ट रूपमा प्रकट भइसकेको छ। स्थानीय संस्था–संगठन, शैक्षिक प्रतिष्ठान, सांस्कृतिक समूह, स्वास्थ्य–सेवा स्वयंसेवक तथा समाजसेवी व्यक्तिहरूको निरन्तर समर्थनले तयारीहरू थप सुव्यवस्थित बनेका छन्। पाँच दशकको गौरवशाली इतिहास, पहिचान, अधिकार तथा अस्तित्वका पक्षमा निरन्तर संघर्षरत आग्सु ले यो स्वर्ण जयन्ती वर्षलाई संगठनात्मक सबलीकरण तथा आगामी यात्राका लागि दृढ संकल्प व्यक्त गर्ने विशेष अवसरका रूपमा लिएको छ।

यसैबीच, अखिल असमका सबै जिल्लाबाट भइरहेको प्रचार–प्रसार र जन–सम्पर्क अभियानका कारण सम्पूर्ण असमभरि गोर्खा समाजबीच दुलियाजनमा हुने ऐतिहासिक जन–भेलाको उत्साहजनक वातावरण बनेको छ। यही सन्दर्भमा अखिल असम गोर्खा छात्र संघ का सभापति सुनील छेत्री तथा मूल–सचिव नुमल छेत्री ले सम्पूर्ण असमवासी गोर्खा जनसमुदायलाई अनिवार्य रूपमा उपस्थिति जनाई समारोहलाई भव्य सफल बनाउने हार्दिक आह्वान गरेका छन्।

स्वर्ण जयन्ती शुभारम्भ समारोहको तयारी तथा पूर्वसन्ध्याको माहोलले यस कार्यक्रम अत्यन्त ऐतिहासिक, प्रेरणादायी तथा संगठनात्मक दृष्टिले महत्त्वपूर्ण हुने विश्वासलाई बलियो बनाएको छ। गोर्खा समाजको गौरव, पहिचान तथा सामूहिक एकताको प्रतीकका रूपमा यो समारोह आग्सु को भावी यात्रामा नयाँ ऊर्जा, दृढता र सामूहिक प्रतिबद्धता प्रदान गर्नेछ भन्ने आशा गरिएको छ।

📤 Share this story
← First Story in Issue
Scroll to Top