
टंला, ६ सेप्टेम्बर : टंला गोर्खा महिला कल्याण समितिको आयोजनामा परम्परागत गोर्खाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा भव्य तीज समारोह सम्पन्न भएको छ। गोर्खाली मौलिक संस्कृति, परम्परा तथा सामाजिक एकतालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
समारोहमा अखिल असम गोर्खा छात्र संघ (आग्सु)का मूल सचिव श्री सोमराज सोनार मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा स्थानीय गोर्खा समुदायका महिला, विभिन्न सामाजिक तथा जातीय संघ–संस्थाका प्रतिनिधि, ज्येष्ठ नागरिक एवं सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सोनारले तीज पर्व गोर्खाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसको मौलिकता र परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। उनले महिला सशक्तीकरण, सामाजिक एकता तथा समुदायको समग्र विकासमा महिलाहरूको महत्वपूर्ण भूमिकामाथि पनि प्रकाश पारे।
समारोहमा तीजका पारम्परिक गीत तथा नृत्यलगायत विभिन्न सांस्कृतिक प्रस्तुतिले उपस्थित सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रममा सहभागी महिलाहरूले आपसी सद्भाव, भाइचारा तथा सांस्कृतिक एकताको सन्देश प्रवाह गर्दै पर्वलाई उल्लासपूर्वक मनाएका थिए।
टंला गोर्खा महिला कल्याण समितिले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै समुदायमा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले आयोजना गरेको यस तीज समारोहले गोर्खा समुदायबीच एकता र आत्मीयता अझ प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।