All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #4
November 13, 2025

अखिल असम गोर्खा छात्र संघ (AAGSU) द्वारा आयोजित ‘जातीय मुद्दा मन्थन ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न

📅 November 13, 2025
✍️ AAGSU
🕒 12:02 AM

गुवाहाटी, ०८ नोभेम्बर २०२५: अखिल असम गोर्खा छात्र संघ (AAGSU) द्वारा आयोजित ‘जातीय मुद्दा मन्थन’ नामक बृहत् गोष्ठी आज गुवाहाटीस्थित पी.डब्ल्यू.डी. कनभेन्सन हल, दिसपुर लास्ट गेटमा अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा असमका विभिन्न जिल्लाबाट आएका गोर्खा समाजका प्रतिनिधि, बौद्धिक, विद्यार्थी, समाजसेवी, लेखक, कलाकार तथा जातीय–सांस्कृतिक संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भ ११.३० बजी अखिल असम गोर्खा छात्र संघ (AAGSU) का संस्थापक सभापति डा. हर्कबहादुर छेत्री द्वारा दीप प्रज्वलन गरेर गरियो । कार्यक्रमको औपचारिक उद्घाटन असम लोक सेवा आयोग का अध्यक्ष श्रीमान देवराज उपाध्यायज्यु ले गर्नुभयो ।

संघका सभापति श्री सुनील कुमार छेत्री सभाको प्ररम्भमै भन्नुभयो- “आज हामी हाम्रो अधिकार, अस्तित्व र पहिचानका सवालमा सामूहिक आवाज उठाउनुपर्ने निर्णायक क्षणमा छौं। गोर्खा समाज अब केवल मांगकर्ता होइन, नीति निर्माणकर्ता बन्नुपर्छ।”

मूल–सचिव श्री नुमल छेत्री ले संघको तर्फबाट स्वागत मन्तव्य दिँदै गोर्खा समाजले विगत केही दशकयता सामना गर्दै आएका समस्याहरू — विशेषतः अनुसूचित जनजाति करण (Scheduled Tribe Status) को विलम्ब, गोर्खा स्वायत्त शासनको माग, शिक्षा र रोजगारीमा अवसरको अभाव, तथा भाषिक–सांस्कृतिक संरक्षणका चुनौतीहरू —लाई औंल्याउनुभयो।

कार्यक्रममा असमका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले आफ्ना विचार प्रस्तुत गर्नुभयो । कार्यक्रममा विशेष अतिथि तथा आमन्त्रित व्यक्तित्वहरूको रूपमा गोर्खा विकास परिषद् का अध्यक्ष श्री प्रेम तामाङ, गोर्खा स्वायत्त शासन माग समिति का अध्यक्ष डा. हर्क बहादुर छेत्री, अखिल असम गोर्खा छात्र संघ (आग्सु) का पूर्व सभापति श्री भास्कर दाहाल, संघका पूर्व सभापति तथा असम गोर्खा सम्मेलन का मूल–सचिव श्री जगदीश खनाल, मिसिङ स्वायत्त शासित परिसदका कार्यकारी सदस्य श्री पदुम राई, राभा हासङ स्वायत्त शासित परिसदका का कार्यकारी सदस्य श्री अर्जुन छेत्री, तथा श्री प्रकाश दाहाल, श्री बलराम थापा, श्री गणेश शर्मा, श्री बल्लभ रेग्मी, श्री एल. बी. तामाङ, श्री सुनील गुरुङ लगायतका विशिष्ट अतिथिहरू उपस्थित थियो ।

यस गोष्ठीमा विभिन्न जातीय, सामाजिक, सांस्कृतिक र बौद्धिक संगठनहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा असम नेवार सम्मेलन, असम खस महासभा, अखिल असम मगर संघ, मगर साहित्य सभा, अखिल भारतीय नेवार संगठन, अखिल असम गोर्खा सन्यासी समाज, अखिल असम गोर्खा विश्वकर्मा समाज, भारतीय कामी उन्नयन परिषद्, अखिल असम गोर्खा दमाई समाज, संयुक्त गोर्खा जनसंघ, असम गोर्खा साहित्य सभा, असम गोर्खा सार्की समाज, गोर्खा खास जनजाति महासभा- भिजन भारत, भारतीय गोर्खा परिसंघ लगायतका २० भन्द बढी संस्था-संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले अनुसूचित जनजातिकरण, गोर्खा स्वायत्त शासन, शिक्षा र रोजगारीमा अवसरका चुनौती, तथा भाषा–संस्कृति संरक्षणका विषयमा विस्तृत छलफल गरेका थिए। सहभागीहरूले लिखित सुझावहरू पनि पेश गरे, जसलाई AAGSU ले संकलन गरी आगामी नीति दस्तावेजको रूपमा तयार गर्ने निर्णय गरेको छ।

अखिल असम गोर्खा छात्र संघ (AAGSU) का सभापति श्री सुनील कुमार छेत्री ले गोर्खा समाजको सामूहिक एकताको आह्वान गर्दै भन्नुभयो —
“आजको यो ‘जातीय मुद्दा मथन’ केवल छलफल होइन, हाम्रो भविष्यको दिशानिर्देशक हो। अब समय आएको छ—गोर्खा समाजले आफ्नो अधिकारका सवालमा एक स्वरमा बोलोस्।”

यस श्रृंखलालाई निरन्तरता दिँदै आगामी ७ डिसेम्बर २०२५ का दिन भारतीय कामी उत्थान परिषद् को आतिथ्यमा अर्को गोष्ठी बस्ने निर्णय गरिएको छ।

‘जातीय मुद्दा मथन’ कार्यक्रमले असम राज्यभरका गोर्खा समाजमा नयाँ चेतना, एकता र सकारात्मक ऊर्जा भर्ने कार्य गरेको छ। वक्ताहरूले एकमतले भने — “गोर्खा समुदायको पहिचान र अधिकार अब संघर्षको होइन, समाधानको दिशामा लैजान समय आएको छ।”

📤 Share this story
Scroll to Top