All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #10
December 25, 2025

कार्बि आंलंको वर्तमान परिस्थितिलाई लिएर प्रशासन र छात्र संगठनबीच महत्वपूर्ण बैठक

📅 December 25, 2025
✍️ AAGSU
🕒 12:05 AM

कार्बि आंलं, २३ डिसेम्बर: कार्बि आंलं जिल्लामा पछिल्लो समय देखिँदै आएको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै शान्ति, सद्भाव र कानून–व्यवस्था कायम राख्ने उद्देश्यले अखिल असम गोर्खा छात्र संघ (आग्सु) कार्बि आंलं जिल्ला समितिको पहलमा जिल्ला प्रशासनसँग एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ।
आग्सु कार्बि आंलं जिल्ला समितिका सभापति नारायण छेत्री, प्राक्तन सभापति सुरज छेत्री, मुख्य उपदेष्टा लखी लिम्बु, मुल सचिव संजु छेत्री र देउपानी-निलीप आंचलिक समितिका सभापति हितेश अधिकारी को टोलिले जिल्लाका विभिन्न छात्र संगठनका प्रतिनिधिहरूसहित जिल्ला आयुक्त (DC) तथा वरिष्ठ प्रहरी उपरीक्षक (SSP) सँग भेटघाट तथा विस्तृत छलफल गरेको हो। बैठकमा जिल्लाको समग्र शान्ति–सुरक्षाको अवस्था, आपसी सद्भाव कायम राख्ने उपाय तथा कुनै पनि अप्रिय घटना हुन नदिन अपनाउनुपर्ने सतर्कताबारे गम्भीर रूपमा विचार–विमर्श गरिएको बताइएको छ।
विशेषगरी पश्चिम कार्बि आंलंमा हालै देखिएको जस्तै अप्रिय अवस्था कार्बि आंलं जिल्लामा दोहोरिन नदिन सबै पक्ष सचेत र जिम्मेवार भएर अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको छ। जिल्लामा बसोबास गर्ने विभिन्न समुदायबीच आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउँदै शान्तिपूर्ण सहअस्तित्व कायम राख्नु आजको आवश्यकता रहेको धारणा सहभागीहरूले व्यक्त गरेका छन्।
बैठकमा सहभागी सबै छात्र संगठनहरूले शान्ति कायम राख्ने सवालमा प्रशासनसँग नजिकको समन्वय गर्दै अघि बढ्ने साझा प्रतिबद्धता जनाएका छन्। साथै, कुनै पनि किसिमको अफवाह, उक्साहट वा अशान्ति फैलाउने गतिविधिप्रति सतर्क रहँदै समयमै प्रशासनलाई जानकारी गराउने सहमति पनि बैठकमा व्यक्त गरिएको छ।
जिल्ला प्रशासनले पनि छात्र संगठनहरूको भूमिकाको प्रशंसा गर्दै शान्ति र कानून–व्यवस्था कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको बताएको छ। प्रशासन र नागरिक समाजबीच निरन्तर संवाद र सहकार्यबाट मात्र जिल्लामा दीगो शान्ति सम्भव हुने प्रशासनको धारणा रहेको थियो।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त बैठकले कार्बि आंलं जिल्लामा शान्ति, सद्भाव र आपसी समझदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
प्रतिवेदन: नारायण छेत्री-सभापति, कार्बि आंलं जिल्ला समिति (आग्सु)

📤 Share this story
Scroll to Top