
गुवाहाटी,२९ जुलाई: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को नव-निर्वाचित केन्द्रीय समितिको शपथ ग्रहण समारोह तथा कार्यकाल सम्पन्न गरेका केन्द्रीय पदाधिकारीहरूको बिदाइ एवं सम्मान समारोह ३० जुलाई गुवाहाटीस्थित श्रीमन्त शङ्करदेव कलाक्षेत्रको श्रीश्री माधवदेव अन्तर्राष्ट्रिय प्रेक्षागृहमा आयोजना हुने भएको छ।
आग्सुले जारी गरेको विज्ञप्तिअनुसार समारोहमा नव-निर्वाचित केन्द्रीय समितिलाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गरिनेछ। साथै संगठनको उन्नति र सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याएका निवर्तमान केन्द्रीय पदाधिकारीहरूलाई सम्मानपूर्वक बिदाइ गरिने कार्यक्रम रहेको छ।
कार्यक्रममा आग्सुका शाखा, आञ्चलिक, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी, पूर्व नेतृत्व, अभिभावक, शुभेच्छुक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
आग्सुले सम्पूर्ण संगठन परिवारलाई कार्यक्रममा ससम्मान सहभागी भई समारोहलाई भव्य, सफल तथा स्मरणीय बनाउन हार्दिक अनुरोध गरेको छ।
प्रतिवेदक: श्री सञ्जय छेत्री, मुल सचिव, आग्सु टङला आञ्चलिक समिति।