All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #29
May 7, 2026

रौता आञ्चलिक समितिको नव नियुक्त कार्यकारिणी समितिकाे शपथ ग्रहण सम्पन्न

📅 May 7, 2026
✍️ AAGSU
🕒 12:06 AM

रौता, १ मे २०२६: आज अखिल असम गोर्खा छात्र संघ (आग्सु) रौता आञ्चलिक समितिको शपथ ग्रहण सभा आज मराधनशिरि युवा मञ्च प्राङ्गणमा एक गरिमामय वातावरणका बीच सफलतापूर्वक सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता रौता आञ्चलिक समितिका निवर्तमान सभापति श्री राजीव शर्माले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन निवर्तमान मूल सचिव श्री मोहन क्षेत्रीले गर्नु भएको थियो।

सभामा जिल्ला समितिबाट शपथ वाक्य पाठ गराउनका लागि जिल्ला उप-सभापति श्री संजीव खतिवडा तथा प्रचार सचिव श्री नव शर्माको विशेष उपस्थिति रहेको थियो। यसैगरी, BTC क्षेत्रीय समितिबाट वित्त सचिव श्री मणिराज छेत्रीको समेत गरिमामय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझ महत्व र गरिमा प्रदान गरेको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नवगठित आञ्चलिक समितिका पदाधिकारीहरूले शपथ ग्रहण गरेका थिए। आञ्चलिक समितिका नव नियुक्त सभापति श्री विकास शर्मा, मूल सचिव श्री ख्याम नेवार तथा अन्य विभिन्न पदमा चयन भएका पदाधिकारीहरूले आग्सुको पवित्र झण्डामुनि उभिएर संगठनको संविधानलाई साक्षी राख्दै निस्वार्थ भावले जाति, समाज र विद्यार्थी हितका लागि समर्पित भई कार्य गर्ने दृढ संकल्प व्यक्त गर्दै शपथ ग्रहण गरेका थिए।

यस अवसरमा निवर्तमान समितिका पदाधिकारीहरूले आफ्नो कार्यकालका अनुभवहरू साझा गर्दै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै, पुरानो समितिबाट नयाँ समितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो, जसले संगठनको निरन्तरता, अनुशासन र संस्थागत परम्परालाई थप सुदृढ बनाएको अनुभूति गरिएको छ।

कार्यक्रममा विभिन्न शाखा तथा स्थानीय स्तरका अगुवा, समाजसेवी, पूर्व छात्रकर्मी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै संगठनलाई अझ सशक्त, गतिशील र जनमुखी बनाउने अपेक्षा व्यक्त गरेका थिए।

अन्त्यमा, आयोजक समितिले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण व्यक्तित्वहरू प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै कार्यक्रमको सफल समापन भएको घोषणा गरेको छ।

📤 Share this story
Scroll to Top