
गुवाहाटी, ४ जुन २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) का केन्द्रीय सांस्कृतिक सचिव त्रिदेव बिष्टको संयोजनमा एक महत्वपूर्ण अनलाइन बैठक सफलतापूर्वक सम्पन्न भएको छ। उक्त बैठकमा संगठनका विभिन्न जिल्ला समितिका सांस्कृतिक सचिव तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा गोर्खा समुदायको मौलिक संस्कृति, भाषा, कला तथा परम्पराको संरक्षण र प्रवर्द्धनका विषयमा विस्तृत छलफल गरिएको थियो। विशेष गरी वर्तमान पुस्तामाझ आफ्नै सांस्कृतिक पहिचानप्रति जागरण ल्याउने तथा परम्परागत सांस्कृतिक सम्पदालाई आगामी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले विभिन्न योजनाहरू तय गरिएको छ।
बैठकको प्रमुख निर्णयअनुसार आगमी दिनहरूमा परम्परागत ‘मारुनी नृत्य प्रतियोगिता’ आयोजना गरिनेछ। यस प्रतियोगितामार्फत गोर्खा समुदायको लोकप्रिय लोकनृत्य मारुनीलाई व्यापक रूपमा प्रचार–प्रसार गर्नुका साथै युवापुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्ने प्रयास गरिने बताइएको छ।
यसका साथै, युवा पुस्तामाझ सांस्कृतिक चेतना अभिवृद्धि गर्न तथा लोककला, लोकनृत्य, लोकसंगीत र परम्परागत संस्कृतिको अभ्यासलाई प्रोत्साहन गर्न विभिन्न स्थानमा विशेष सांस्कृतिक कार्यशाला सञ्चालन गर्ने निर्णय समेत गरिएको छ। यस्ता कार्यक्रमहरूले युवाहरूमा सांस्कृतिक नेतृत्व विकास गर्नुका साथै समुदायको सांस्कृतिक धरोहर संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सांस्कृतिक सचिव त्रिदेव बिष्टले गोर्खा समुदायको समृद्ध सांस्कृतिक विरासतलाई जोगाउन युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै सांस्कृतिक गतिविधिहरूलाई संगठनको प्राथमिकतामा राखेर अगाडि बढाइने उल्लेख गरे।
बैठकमा सहभागी सबै जिल्ला प्रतिनिधिहरूले सांस्कृतिक अभियानलाई सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।