All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #29
May 7, 2026

टिंगराईमा आग्सुद्वारा ४० जना विद्यार्थीहरूलाई विशेष अभिनन्दन, शैक्षिक उत्कृष्टतालाई सम्मान

📅 May 7, 2026
✍️ AAGSU
🕒 12:06 AM

तिनसुकिया, ३ मे २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समिति अन्तर्गत टिंगराई आञ्चलिक समितिद्वारा आयोजित विशेष अभिनन्दन अनुष्ठान उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। टिंगराईस्थित आञ्चलिक कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा उच्च तथा उच्चतर माध्यमिक परीक्षामा प्रथम श्रेणीमा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न जात–जनगोष्ठीका विद्यार्थीहरूलाई सम्मान तथा अभिनन्दन गरिएको हो।

कार्यक्रममा कूल ४० जना छात्र–छात्राहरूलाई औपचारिक रूपमा सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरूलाई प्रशंसापत्र, खादा तथा प्रोत्साहन सामग्री प्रदान गर्दै उनीहरूको कडा मेहनत, लगनशीलता र शैक्षिक समर्पणको उच्च मूल्यांकन गरिएको आयोजक पक्षले जनाएको छ। कार्यक्रममा वक्ताहरूले यस्ता उपलब्धिहरूले समाजमा सकारात्मक सन्देश दिने मात्र नभई अन्य विद्यार्थीहरूलाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।

अभिनन्दन अनुष्ठानमा आग्सु तिनसुकिया जिल्ला समितिका मुख्य सल्लाहकार अशोक कुमार लामा, सभापति देव गुरुङ, उप सभापति मिलन शर्मा, शिक्षा सचिव खेम छेत्री, वित्त सचिव मिलन छेत्री तथा सह–सांस्कृतिक सचिव बिष्णु शर्मा लगायतका प्रमुख व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै स्थानीय बुद्धिजीवी, अभिभावक तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सल्लाहकार अशोक कुमार लामाले विद्यार्थीहरूको उपलब्धिले सम्पूर्ण समाजको शिर उच्च बनाएको उल्लेख गर्दै भविष्यमा अझ ठूलो सफलता हासिल गर्न निरन्तर प्रयासरत रहन आग्रह गरे। उनले आग्सु सदैव विद्यार्थीहरूको हक, अधिकार र शैक्षिक विकासका लागि प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

सभापति देव गुरुङले विद्यार्थीहरूलाई सम्मान गर्नु मात्र औपचारिकता नभई उनीहरूको भविष्य निर्माणमा थप हौसला प्रदान गर्ने महत्वपूर्ण पहल भएको बताए। उनले शिक्षा नै समाज रूपान्तरणको प्रमुख माध्यम भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी गराए।

त्यस्तै, उप सभापति मिलन शर्मा, शिक्षा सचिव खेम छेत्री, वित्त सचिव मिलन छेत्री र सह–सांस्कृतिक सचिव बिष्णु शर्माले पनि आफ्ना धारणा राख्दै विद्यार्थीहरूको मेहनतको प्रशंसा गरेका थिए। उनीहरूले विद्यार्थीहरूलाई अनुशासन, लगनशीलता र निरन्तरतासहित अघि बढ्न सुझाव दिएका थिए।

कार्यक्रमको समापनमा आयोजक समितिले सबै अतिथि, अभिभावक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता शैक्षिक तथा सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो। टिंगराई आञ्चलिक समितिद्वारा गरिएको यो पहलले क्षेत्रीय स्तरमा शिक्षा प्रवर्द्धन र विद्यार्थी प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिवेदक; जतन प्रधान- सांगठनिक सचिव(IT Incharge), तिनसुकिया जिल्ला समिति।

📤 Share this story
Scroll to Top