All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #35
June 18, 2026

अखिल असम गोर्खा छात्र संघका पूर्व कार्यकर्ता ओम कुमार प्रधानको असामयिक निधन, संघद्वारा गहिरो शोक व्यक्त

📅 June 18, 2026
✍️ AAGSU
🕒 12:02 AM

तामुलपुर, १५ जुन: अखिल असम गोर्खा छात्र संघका पूर्व कार्यकर्ता ओम कुमार प्रधानको आज असामयिक निधन भएको छ। उनको आकस्मिक निधनको खबरले परिवार, आफन्त, शुभचिन्तक, स्थानीयवासी तथा अखिल असम गोर्खा छात्र संघका कार्यकर्ताहरूलाई स्तब्ध बनाएको छ।

स्वर्गीय प्रधानले संघको अविभक्त बाक्सा (हाल तामुलपुर) जिल्ला समिति अन्तर्गत पूर्व डेफेली आञ्चलिक समितिको भोलाझार शाखा समितिमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै संगठनको सुदृढीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। उनले सन् २०१६ देखि २०१८ सम्म भोलाझार शाखा समितिको मूल सचिवका रूपमा सफलतापूर्वक कार्य गरेका थिए भने सन् २०१८ देखि २०२० सम्म पूर्व डेफेली आञ्चलिक समितिको कार्यकारिणी सदस्यका रूपमा छात्र संगठन र गोर्खा समाजका लागि महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

उनको संगठनप्रतिको निष्ठा, समर्पण, सक्रियता तथा समाजसेवाप्रतिको प्रतिबद्धतालाई स्मरण गर्दै अखिल असम गोर्खा छात्र संघको तामुलपुर जिल्ला समिति, पूर्व डेफेली आञ्चलिक समिति, भोलाझार शाखा समिति तथा विभिन्न गोर्खा संघ–संस्थाहरूले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

आज उनको निधनको खबर सार्वजनिक भएलगत्तै अखिल असम गोर्खा छात्र संघको तामुलपुर जिल्ला समिति, पूर्व डेफेली आञ्चलिक समिति र भोलाझार शाखा समितिका कार्यकर्ताहरू उनको तामुलपुरको बंगालीपाडामा रहेको शोकाकुल निवासमा पुगेर ससम्मान सांगठनिक श्रद्धाञ्जली तथा अन्तिम बिदाइ दिए भने अन्त्येष्टि क्रियामा उपस्थित रहे।

यता, पूर्व डेफेली आञ्चलिक समितिद्वारा जारी गरिएको शोक वार्तामा ओम कुमार प्रधानको असामयिक वियोगले गोर्खा समुदाय तथा संगठनलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ। एकजना कर्मठ, निष्ठावान् तथा जाति र संगठनप्रति समर्पित युवा गुमाएको भन्दै उनले समाज र संगठनको हितका लागि पुर्‍याएको अतुलनीय योगदान सधैं स्मरणीय रहने बताइएको छ। साथै यस शोकको घडीमा उनको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार, आफन्तजन तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

उल्लेखनीय छ, ओम कुमार प्रधान एकजना पूर्व सांगठनिक कार्यकर्ता हुनुको साथसाथै उनीमा प्रविधिक, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा समेत राम्रो दखल रहेको थियो।

प्रतिवेदक: द्विगबिजय लुइटेल- मूल-सचिव, पुर्व डेफेली आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top