All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #30
May 14, 2026

आग्सु टिङखाङ आञ्चलिक समितिको वर्धित कार्यनिर्वाहक सभा सम्पन्न, विद्यार्थी सम्मान कार्यक्रम आयोजना गर्ने निर्णय

📅 May 14, 2026
✍️ AAGSU
🕒 12:06 AM

टिङखाङ, १० मई २०२६ः अखिल असम गोर्खा छात्र संघ, टिङखाङ आञ्चलिक समितिको मुख्य कार्यालय सुकानीमा वर्धित कार्यनिर्वाहक सभा सम्पन्न भएको छ। उक्त सभाको सभापतित्व आञ्चलिक समितिका भरप्राप्त सभापति श्री प्रदीप छेत्रीले गर्नुभएको थियो भने सभाको उद्देश्य व्याख्या आञ्चलिक समितिका मूल-सचिव श्री परिमल विश्वकर्माले गर्नुभएको थियो।

सभामा डिब्रुगढ जिल्ला समितिका मूल–सचिव श्री दीपु घिसिङ, पुर्व मूल–सचिव श्री सन्तोष लिम्बू, टिङखाङ आञ्चलिक समितिका सल्लाहकार श्री बिनोद लिम्बू लगायत आञ्चलिक समितिका सम्पूर्ण पदाधिकारी, शाखा समितिका सभापति तथा सम्पादकहरू उपस्थित रहेका थिए। साथै गोर्खा नारी परिषद् टीआरसीकी सभानेत्री, सम्पादिका तथा परिषद्का सम्पूर्ण विषय–बोबियाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामा संगठनको वर्तमान गतिविधि, आगामी कार्ययोजना तथा समाजमुखी कार्यक्रमहरूबारे विस्तृत रूपमा छलफल गरिएको थियो। विशेषतः विद्यार्थी तथा युवापुस्तालाई संगठनसँग अझ नजिक बनाउने उद्देश्यले विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता माथि जोड दिइएको थियो। उपस्थित वक्ताहरूले संगठनलाई अझ सशक्त र गतिशील बनाउँदै समाजको हक–हितका पक्षमा निरन्तर सक्रिय रहनुपर्ने धारणा व्यक्त गरेका थिए।

सभाको महत्वपूर्ण निर्णयअनुसार आगामी ७ जून २०२६ का दिन सन् २०२६ को HSLC तथा HS परीक्षामा सफलतापूर्वक उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा सम्बर्धना गर्ने कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रम राजगढ़ जिल्ला परिषद् भवनमा सम्पन्न गरिने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको छ। कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रशंसा–पत्र प्रदान गरिनुका साथै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्दै प्रेरणादायी वातावरण सिर्जना गरिने जानकारी पनि सभामा दिइएको थियो।

सभामा सहभागी वक्ताहरूले शिक्षा नै समाज रूपान्तरणको मुख्य आधार भएकाले विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमको सफल आयोजनाका लागि आवश्यक तयारी तथा व्यवस्थापन सम्बन्धी जिम्मेवारीहरू समेत सभामार्फत विभिन्न पदाधिकारीहरूलाई प्रदान गरिएको जनाइएको छ।

सभाको अन्त्यमा सभापति श्री प्रदीप छेत्रीले उपस्थित सम्पूर्ण सदस्यहरू तथा अतिथिहरूप्रति धन्यवाद ज्ञापन गर्दै संगठनलाई एकताबद्ध रूपमा अगाडि बढाउन सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो।

प्रतिवेदक: परिमल बिश्वकर्मा– मूल-सचिव ,टिङखाङ आञ्चलिक समिति ।

📤 Share this story
Scroll to Top