
टङला, ५ जुन २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), टङला आञ्चलिक समितिको आयोजनामा विश्व पर्यावरण दिवसको उपलक्ष्यमा आञ्चलिक समितिको मुख्य कार्यालय गोर्खा छात्रनिवास प्राङ्गणमा वृक्षारोपण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमको शुभारम्भ आञ्चलिक समितिका सभापति सुरज कार्कीले प्रथम वृक्षारोपण गरी गर्नु भएको थियो। त्यसपछि पूर्व आग्सु कर्मी तथा दुलियापाढा शिव मन्दिर परिचालना समितिका मूल सचिव शिव कुमार प्रधान, पूर्व आग्सु कर्मी तथा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस), टङला शाखाका अध्यक्ष तिलक शर्मा, साथै आञ्चलिक समितिका पदाधिकारी, सदस्य तथा शुभेच्छुक व्यक्तिहरूले वृक्षारोपण गरी कार्यक्रमलाई सफल बनाएका थिए।
विश्व पर्यावरण दिवसको सान्दर्भिकतालाई आत्मसात गर्दै आयोजित यस कार्यक्रममा वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा हरियाली वातावरण निर्माणमा वृक्षारोपणको महत्वबारे चर्चा गरिएको थियो। वक्ताहरूले वर्तमान समयमा बढ्दो वन विनाश, प्रदूषण तथा वातावरणीय असन्तुलनप्रति चिन्ता व्यक्त गर्दै प्रत्येक व्यक्तिले आफ्नो जिम्मेवारीबोधका साथ वृक्षारोपण अभियानमा सहभागी हुनुपर्ने आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा रोपिएका बिरुवाहरूको नियमित संरक्षण र हेरचाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो। आग्सु टङला आञ्चलिक समितिले केवल शैक्षिक र सामाजिक क्षेत्रमा मात्र नभई वातावरणीय चेतना अभिवृद्धिका लागि पनि निरन्तर कार्य गर्दै आएको उल्लेख गर्दै भविष्यमा यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाइने जनाएको छ।
कार्यक्रम सुन्दर तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो।
प्रतिवेदक: सञ्जय छेत्री, मुल सचिव। टङला आञ्चलिक समिति।।