
तीनसुकिया, १८ मार्च २०२६ः अखिल असम गोर्खा छात्र संघ (आग्सु) तीनसुकिया जिल्ला समितिको आयोजनामा सम्पन्न हुन गइरहेको त्रयोदश द्वि–वार्षिक अधिवेशनका लागि तयारी कार्य तीव्र पारिएको छ। यही २२ मार्च २०२६ आइतबारका दिन धला मुकलि मञ्च, छैखोवामा एकदिने कार्यक्रमको रूपमा आयोजना हुने उक्त अधिवेशन छैखोवा आञ्चलिक समितिको आतिथ्यतामा तथा सम्पूर्ण आञ्चलिक समितिहरूको सक्रिय सहयोगमा सम्पन्न हुनेछ।
उक्त अधिवेशनको कार्यक्रम बिहान ८ बजे आग्सुको झण्डा उत्तोलनसँगै औपचारिक रूपमा शुभारम्भ गरिनेछ। झण्डा उत्तोलन आग्सु तीनसुकिया जिल्ला समितिका सभापति श्रीमान् अशोक कुमार लामाले गर्नेछन्। त्यसपछि शहीद तथा दिवंगत महानुभावहरूको सम्झनामा स्मृति तर्पण तथा बत्ती प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ, जसमा मूल–सचिव श्रीमान् शेखर गुरुङ र स्वागतकारिणी समितिका सचिव श्रीमान् चन्दन तामाङको उपस्थिति रहनेछ।
कार्यक्रमको अर्को महत्वपूर्ण अंशका रूपमा बिहान ९ बजे वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ, जसको नेतृत्व उद्यापन समितिका सभापति श्रीमान् मुक्ति छेत्रीले गर्नेछन्। वातावरण संरक्षण तथा हरित अभियानलाई सुदृढ बनाउने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रमलाई विशेष महत्त्वका साथ लिइएको छ।
यसैगरी, बिहान १० बजे प्रतिनिधि शिविर उद्घाटन कार्यक्रम सम्पन्न हुनेछ, जसमा आग्सुका पूर्व केन्द्रीय नेतृत्व श्रीमान् नवीन लिम्बू प्रमुख अतिथिका रूपमा उपस्थित भई उद्घाटन गर्नेछन्। त्यसपछि बिहान १०:३० बजे प्रतिनिधि दर्ता प्रक्रिया सम्पन्न गरिनेछ भने बिहान ११ बजे मुख्य मञ्च तथा प्रतिनिधि सभा उद्घाटन कार्यक्रम आयोजना गरिनेछ।
मुख्य मञ्च उद्घाटन आग्सुका पूर्व उप–सभापति श्रीमान् शंकर लामाद्वारा गरिनेछ। प्रतिनिधि सभामा जिल्ला सभापति श्रीमान् अशोक कुमार लामाले सभापतित्व ग्रहण गर्नेछन् भने मूल–सचिव श्रीमान् शेखर गुरुङले कार्यक्रम सञ्चालन गर्नेछन्। साथै, उद्यापन समितिका सभापति श्रीमान् मुक्ति छेत्री तथा सचिव श्रीमान् चन्दन तामाङले सम्पूर्ण कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।
यस अधिवेशनमा विभिन्न तहका विशिष्ट अतिथि, संगठनका पूर्व तथा वर्तमान पदाधिकारीहरू, प्रतिनिधिहरू तथा समाजका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। अधिवेशनको क्रममा संगठनको भावी कार्यदिशा, नीतिगत निर्णय, संगठन सुदृढीकरण तथा गोर्खा समुदायसँग सम्बन्धित विविध समसामयिक विषयहरूमा व्यापक छलफल हुने जनाइएको छ।
आयोजक समितिका अनुसार, आग्सुको त्रयोदश द्वि–वार्षिक अधिवेशन संगठनको इतिहासमा एक महत्वपूर्ण अध्यायका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ। यसले संगठनलाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउँदै गोर्खा समुदायका हक–अधिकारको संरक्षण तथा प्रवर्द्धनमा नयाँ मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव( IT Incharge) ,तिनसुकिया जिल्ला समिति।