All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #22
March 19, 2026

खाकाराजानमा शहीद मेजर दुर्गा मल्लको शालिक अनावरण भव्य रूपमा सम्पन्न

📅 March 19, 2026
✍️ AAGSU
🕒 12:05 AM

खाकाराजान, १५ मार्च: अखिल असम गोर्खा छात्र संघ (आग्सु), कार्बी आङलङ जिल्ला समितिको पहल तथा देउपानी–निलिप आञ्चलिक समितिको सहयोगमा खाकाराजानमा शहीद मेजर दुर्गा मल्ल ज्यूको शालिक अनावरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमअघि आयोजित विशाल जनसभामा करिब ५०० भन्दा बढी सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त आमसभाको अध्यक्षता नारायण छेत्री ज्यूले गर्नुभएको थियो। सभामा विशिष्ट अतिथिहरूका रूपमा नितिन राई, प्रतिष्ठापक सभापति, आग्सू कार्बी आङलङ जिल्ला समिति, महेश शर्मा, सह–मुखपत्र सचिव, आग्सू केन्द्रीय समिति, भरत शर्मा, पूर्व कार्यकारी सभापति, असम गोर्खा सम्मेलन कार्बी आङलङ, छबिलाल सुब्बा, मूल सचिव, नेपाली साहित्य सभा कार्बी आङलङ, लखि लिम्बु, मूल सचिव, गोर्खा संस्कृति समाज, निर्मल छेत्री, कोषाध्यक्ष, गोर्खा संस्कृति समाज, पुष्पजन छेत्री, उपसभापति, भारतीय गोर्खा परिसंघ केन्द्रीय समिति, विष्णु अर्याल, सभापति, भारतीय गोर्खा परिसंघ कार्बी आङलङ क्षेत्रीय समिति तथा श्रवण कुमार तेलेङ्गा, सदस्य, देउपानी परिषदीय समष्टिको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा शहीद मेजर दुर्गा मल्ल ज्यूको शालिक अनावरण हाउराघाट समष्टिका विधायक दर्शिंग रङहाङ ज्यूले गर्नुभएको थियो। शालिक अनावरण पश्चात् सम्बोधन गर्दै विधायक रङहाङले देश निर्माण र सुरक्षामा गोर्खा समुदायको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो। उहाँले गोर्खाहरू यस भूमिका रैथाने बासिन्दा भएको स्पष्ट पार्दै शहीद दुर्गा मल्ल ज्यूलाई त्यसको ज्वलन्त उदाहरणका रूपमा स्मरण गर्नुभयो।

कार्यक्रमभरि वक्ताहरूले शहीद दुर्गा मल्ल ज्यूको वीरता, राष्ट्रप्रतिको समर्पण र बलिदानको उच्च प्रशंसा गर्दै नयाँ पुस्तालाई उहाँको जीवनबाट प्रेरणा लिन आग्रह गरेका थिए। साथै, यस्ता ऐतिहासिक व्यक्तित्वहरूको स्मरण र सम्मानले समुदायमा एकता र आत्मसम्मानको भावना अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको थियो।

अन्त्यमा, औपचारिक रूपमा धन्यवाद ज्ञापन गरेपछि सभापति नारायण छेत्री ज्यूले सभा विसर्जन गर्नुभएको थियो।

प्रतिवेदक: नारायण छेत्री- सभापति, कार्बि आङ्लङ जिल्ला समिति।

📤 Share this story
Scroll to Top