
धेमाजी,डिमौ नवेम्बर 20:: – योगासन खेलकुदको विश्वमञ्चमा असाधारण प्रदर्शन गर्दै धेमाजी जिल्ला डिमौका उदीयमान युवा प्रतिभा श्री सोमनाथ पराजुलीले Yoga Sports Federation of India को आयोजनामा हरियाणा, करनालमा सम्पन्न 6th Yogasana World Cup–2025 मा उल्लेखनीय सफलता हात पारेका छन्। प्रतिस्पर्धात्मक वातावरणबीच उनले ३ स्वर्ण पदक, २ रजत पदक गरी कुल ५ पदक आफ्नो नाममा राख्न सफल हुँदै ‘2nd Runner-Up, Champion of Champions’ ट्रफी समेत जिते।
यस भव्य उपलब्धिले न केवल गोर्खा जातिको, तर सम्पूर्ण असम राज्य, विशेषतः धेमाजी–सिलापथर–डिमौ क्षेत्रको प्रतिष्ठा थप उँचो बनाएको छ।
सोमनाथ पराजुली हरियाना बाट घर फर्किनुले समुदायमा उत्साह र गौरवको लहर फैलिएको थियो। हिजो बिहान उहाँ चिमेन सापरी रेलवे स्टेशन आइपुग्नासाथ डीमौ आञ्चलिक गोर्खा छात्र संघ दिपा शाखा तथा अखिल असम गोर्खा छात्र संघ (AAGSU) धेमाजी जिल्ला समितिका पदाधिकारी तथा स्थानीय नागरिकहरूले भव्य रूपमा स्वागत गरेका थिए। फूलमाला, स्वागत नारा र तालीसहितको सम्मान व्यक्त गर्दै समितिले उहाँलाई स्टेशनदेखि घरसम्म सम्मानपूर्वक लिएर गयो।
स्वागत टोलीमा AAGSU धेमाजी जिल्लाका उप–सभापति ओमप्रकाश क्षेत्री, मूल-सचिव दिलीप खनाल, सांगठनिक सचिव गणेश थापा,शिक्षा सचिव पुन्य रिजाल, सह–शिक्षा सचिव विष्णु उपाध्याय
लगायत धेरै सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।
त्यसैगरी डीमौ, चिमेन सपरि आञ्चलिक समितिका सभापति,मूल-सचिव तथा धेरैजसो पदाधिकारीहरू समेत ठूलो संख्यामा जनमानस उपस्थित भई वाहालाइ गर्व व्यक्त गर्दै अभिनन्दन अर्पण गरेका थिए।
उक्त अवसरलाई विशेष बनाउँदै अखिल असम गोर्खा छात्र संघका सम्माननीय सभापति श्रीमान सुनिल क्षेत्रीज्यू स्वयं उपस्थित भई सोमनाथ पराजुलीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले पराजुलीको सफलता गोर्खा युवाहरूको अनुशासन, मेहनत, आत्मविश्वास र लक्ष्यप्रतिको समर्पणको प्रतिफल भएको बताउँदै भविष्यमा अझ उच्च सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
युवा प्रतिभाशाली व्यक्तित्व सोमनाथ पराजुलीले आफ्नो संक्षिप्त प्रतिक्रियामा भने—
“यो सफलता मेरो व्यक्तिगत उपलब्धि मात्र होइन। यो असम, धेमाजी, डिमौ, र सम्पूर्ण गोर्खा समुदायको गर्व हो। परिवार, प्रशिक्षक, संस्थाहरूको समर्थन र जनताको आशिर्वादले नै म आज यहाँसम्म आइपुगेको हुँ। आगामी दिनमा अझ मेहनत गर्दै थेमाजी र समुदायको नाम उज्यालो बनाउनेछु।”
उहाँको सफलताप्रति अभिभावक, स्थानीय जनता, सामाजिक संस्थाहरू, विद्यार्थी तथा खेलप्रेमीहरूबाट निरन्तर शुभकामना प्राप्त भइरहेको छ। गाउँ–समुदायबाटै विश्वस्तरको सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै पराजुलीले गोर्खा युवाहरूलाई खेल क्षेत्रप्रति आकर्षित गर्ने प्रेरणा दिएका छन्।
धेमाजी, सिलापथर, डिमौ तथा आसपासका क्षेत्रमा यस घटनाले उत्साह, गौरव र अभिमानको नयाँ वातावरण सिर्जना गरेको छ। सोमनाथको विजयी फिर्तालाई अवसर बनाई समुदायले एकता, प्रेरणा र प्रगतिका नयाँ सम्भावनाहरूलाई पनि उजागर गरेको छ। वाहाले खेलसँगै गोर्खा समुदायको पहिचान, क्षमता र परिस्थितिलाई नयाँ ढंगले विश्वसामु प्रस्तुत गर्नुभएको छ।
अन्त्यमा, असमका गोर्खाहरूको उज्यालो भविष्यका लागि सोमनाथ पराजुलीको सफलता ऐतिहासिक उपलब्धि सावित भएको छ।
प्रतिवेदन: प्रदीप धमामा- मूल-सचिव, डिमै आञ्चलिक समिति (आग्सु)
