All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #1
October 23, 2025

आग्सु विहाली महाविद्यालय इकाईद्वारा नवप्रवेशी विद्यार्थी स्वागत कार्यक्रम भव्यतापूर्वक सम्पन्न……

📅 October 23, 2025
✍️ AAGSU
🕒 12:04 AM

विहाली, 13 अक्टोबर 2025:- अखिल असम गोर्खा छात्र संघ (AAGSU) विहाली महाविद्यालय इकाईद्वारा आयोजित नवप्रवेशी विद्यार्थी स्वागत तथा रमाइलो भेटघाट कार्यक्रम विहाली आञ्चलिक समितिको सक्रिय सहयोगमा अत्यन्तै उत्साहपूर्ण वातावरणमा भव्यतापूर्वक गत अ. 12 अक्टोबर 2025 को दिन सम्पन्न भएको छ। कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई मात्र नभई महाविद्यालय समुदायका सबै सदस्यहरूलाई समेत सहभागी गराउँदै एकता, अनुशासन र सामाजिक चेतनाको सन्देश प्रवाह गरियो।

कार्यक्रमको अध्यक्षता विहाली महाविद्यालय इकाइका सभापति युवराज छेत्रीले गरेका थिए। उनले आफ्नो उद्घाटन मन्तव्यमा विद्यार्थीहरूलाई शिक्षा र व्यक्तित्व विकासमा सक्रिय रहन प्रोत्साहित गर्दै संघसँगको सम्बद्धतामा दीर्घकालीन योगदानको महत्वमा प्रकाश पारे। महाविद्यालयका अध्यक्ष रमेन् बरा, उपाध्यक्ष डा. विनोद सुवेदी तथा प्रवक्ता डा. सञ्जीव छेत्रीले पनि छात्र-छात्रालाई उद्यमशीलता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वको विषयमा महत्वपूर्ण मार्गदर्शन प्रदान गरे।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा अखिल असम गोर्खा छात्र संघका केन्द्रीय उप-सभापति दिलीप गजुरेल उपस्थित रहनु भएको थियो। उहाँले संघको स्थापना उद्देश्य, विद्यार्थीहरूमा संगठनात्मक चेतना जगाउने कार्य, समाजसेवा तथा नेतृत्व विकासमा संघले खेलेको भूमिका तथा आगामी योजनाहरूको बारेमा जानकारी दिनुभयो। त्यसैगरी, जिल्ला सभापति सुनिल सुतार, उप-सभापति तरुण पौडेल, सूर्य कार्की, कार्यनिर्वाहक सदस्य अनुप शर्मा लगायत विहाली, विश्वनाथ सदर र बाघमरा आञ्चलिक समितिका नेतृत्वहरूको पनि उल्लेखनीय उपस्थितिले कार्यक्रममा औपचारिक र उत्साहजनक वातावरण सिर्जना गरेको थियो।

कार्यक्रममा सांस्कृतिक विविधता झल्काउने विभिन्न प्रस्तुति, स्वागत गीत र छात्र-छात्राद्वारा व्यक्त गरिएका अभिव्यक्तिहरूले वातावरणलाई थप जीवंत बनायो। नवप्रवेशी विद्यार्थीहरूलाई संघमा सामेल गराउने उद्देश्यसहित विभिन्न गतिविधिहरू आयोजना गरिएको थियो, जसमा एकता, अनुशासन, सामाजिक चेतना र नेतृत्व क्षमतामा जोड दिइएको थियो।

विशेष रूपमा संघप्रति दीर्घकालीन समर्पण, नेतृत्व क्षमता र युवामैत्री योगदानको उच्च मूल्याङ्कन गर्दै कार्यक्रमको अवसरमा संघका केन्द्रीय उप-सभापति दिलीप गजुरेललाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी सबै अतिथिहरू र विद्यार्थीहरूले संघको योगदानको सराहना गर्दै आगामी दिनहरूमा पनि विद्यार्थीहरूलाई नेतृत्व र सामाजिक उत्तरदायित्वमा सक्रिय रहन प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस कार्यक्रमले केवल नयाँ विद्यार्थीहरूलाई स्वागत गर्ने मात्र नभई उनीहरूमा नेतृत्व क्षमताको विकास, सामाजिक चेतना र संघसँगको दीर्घकालीन सम्बद्धता कायम गर्ने अवसर पनि प्रदान गरेको छ। विहाली महाविद्यालय इकाईको यो पहल आगामी दिनहरूमा विद्यार्थी संगठनको मजबुत र सक्रिय भूमिका सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम सावित हुनेछ।

📤 Share this story
Scroll to Top