All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #1
October 23, 2025

अखिल असम गोर्खा छात्र संघ (AAGSU) कोक्राझार जिल्ला समितिको बर्धित कार्यकारीणी सभा सम्पन्न — १९औं द्विवार्षिक अधिवेशन डिसेम्बरमा उल्टापानीमा हुने……..

📅 October 23, 2025
✍️ AAGSU
🕒 12:09 AM

११ अक्टोबर २०२५, शनिबार, कोक्राझार :-अखिल असम गोर्खा छात्र संघ (AAGSU) कोक्राझार जिल्ला समितिको मुख्य कार्यालय सुभाषपल्ली, कोक्राझारमा शनिबार एक महत्वपूर्ण बर्धित कार्यकारीणी सभा सम्पन्न भयो। सभाको अध्यक्षता जिल्ला समितिका सभापति मुकुन्द भट्टराईले गरेका थिए। उक्त सभाको मुख्य उद्देश्य आगामी १९औं द्विवार्षिक जिल्ला अधिवेशनको तयारी, विगत कार्यकालको मूल्याङ्कन तथा संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल गर्नु रहेको थियो। सभामा जिल्ला अन्तर्गतका पाटगाउँ, अठीयाबारी, सरलपारा, पर्बतझोरा, सुनकोश, कोक्राझार र उल्टापानी आञ्चलिक समितिहरूका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाको आरम्भमा सभापति मुकुन्द भट्टराईले विगत दुई वर्षको कार्यकालको प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो नेतृत्वमा सम्पन्न भएका कार्यक्रमहरूबारे जानकारी दिए। उनले स्मरण गरे कि मिति ४ फेब्रुवरी २०२३ मा खलासी खेलमैदानमा सम्पन्न प्रतिनिधि सभाले उनलाई सभापतिको दायित्व सुम्पेको थियो र सो दायित्वलाई उनले पारदर्शिता, समर्पण र संगठनात्मक एकताको परिचय दिँदै दुई वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेका छन्। सभापति भट्टराईले संगठनको गत दुई वर्षको यात्रा सफल बनाउने क्रममा कोक्राझार जिल्लाभर “हर घर आग्सु, घर घर आग्सु” अभियानलाई सफलतापूर्वक कार्यान्वयन गरिएको उल्लेख गर्दै समाजमा विद्यमान जातीय विभेद, छुवाछुत, कुरीति र नश्लीय भेदभाव विरुद्ध “घरदैलो कार्यक्रम” सञ्चालन गरिएको बताए। उक्त कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको र संगठनप्रतिको विश्वासलाई अझ प्रगाढ बनाएको उनले जोड दिए। लामो छलफल र प्रस्ताव–विमर्श पश्चात् बर्धित कार्यकारीणी सभाले एकमतले आगामी १९औं द्विवार्षिक अधिवेशन २०२५ डिसेम्बर १३ र १४ (शनिबार र आइतबार) का दिन कोक्राझार जिल्लाको उल्टापानीमा भव्य रूपमा मनाउने निर्णय पारित गर्‍यो। साथै, अधिवेशनलाई ऐतिहासिक र व्यवस्थित बनाउन एक विशेष “स्मारिका” प्रकाशन गर्ने निर्णय पनि सभाले गरेको छ। उक्त स्मारिकाको सम्पादकीय दायित्व जिल्ला समितिका मूल सचिव सेबास्टेन रत्ने, सांगठनिक सचिव हेमन पोख्रेल, मिडिया प्रभारी भुवन पौडेल र सदस्य राम बहादुर लिम्बुलाई सुम्पिएको छ। सभामा सभापति मुकुन्द भट्टराई, मूल सचिव सेबास्टेन रत्ने, सांगठनिक सचिव हेमन पोख्रेल, उपसभापति आइता सिंह लामा, उपसभापति प्रकाश छेत्री, उपसभानेत्री इन्दु थापा, सहसचिव पुष्पराज नेवार, सहसचिव गर्जमान घले, खेलकुद सचिव हेमन्त कटुवाल, सदस्य राम बहादुर लिम्बु, पाटगाउँ आञ्चलिक समितिका सभापति राज तामाङ, मूल सचिव कुमार तामाङ, उपसभापति रोहन बराईली, अठीयाबारी आञ्चलिक समितिका सभापति पवन सुवेदी, सरलपारा आञ्चलिक समितिका सभापति कृष्ण छेत्री, उल्टापानी आञ्चलिक सभापति सुमन तामाङ, BTR क्षेत्रीय समितिका सहसचिव सुजन बराल र रञ्जीत शाखा समितिका सभापति कुशन कोईरालालगायतका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाको समापनमा सभापति मुकुन्द भट्टराईले संगठनको भविष्यप्रति आस्था व्यक्त गर्दै भने कि कोक्राझार जिल्ला समितिले संगठनलाई एकताबद्ध र सशक्त बनाउने यात्रामा निरन्तरता दिइरहेको छ र आउँदो अधिवेशन संगठनात्मक एकता, जनसहभागिता र गौरवपूर्ण इतिहासको प्रतीक हुनेछ।

📤 Share this story
Scroll to Top