All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #1
October 23, 2025

बरलेंग्री–२ मा गोर्खा जनजागरण सभा सम्पन्न : गोर्खा एकताको सशक्त सन्देश…

📅 October 23, 2025
✍️ AAGSU
🕒 12:11 AM

बोकाजान, १९ अक्टोबर २०२५ (आईतबार): अखिल असम गोर्खा छात्र संघ (AAGSU) कार्बि आङलङ जिल्ला समितिको एक प्रतिनिधि मण्डलले आज असम गोर्खा सम्मेलन, पूर्व कार्बि आङलङ जिल्ला समितिको तत्वावधानमा तथा सीमावर्ती शाखा समितिहरूको संयुक्त आयोजनामा बरलेंग्री–२ स्थित ऐतिहासिक दुर्गा मन्दिर प्रांगणमा सम्पन्न “गोर्खा जनजागरण सभा” मा सहभागिता जनाउँदै गोर्खा समाजको हक–अधिकार र एकताको पक्षमा सशक्त आवाज उठाएको छ।

सभाको सञ्चालन असम गोर्खा सम्मेलन, पूर्व कार्बि आङलङ जिल्ला समितिका सभापति श्री केशव छेत्रीले गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता सम्मेलनका वरिष्ठ पदाधिकारीद्वारा गरिएको उक्त सभामा कार्बि आङलङ जिल्लाका विभिन्न राजनीतिक दल, विद्यार्थी संगठन, सामाजिक संस्था तथा क्षेत्रीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्रीय समितिका सह–मुखपात्र सचिव श्री महेश शर्माको सम्बोधन रहेको थियो। उहाँले आफ्नो मन्तव्यमा हाल कार्बि आङलङ क्षेत्रमा केही स्वार्थी तत्वहरूले नेपाली संगठनहरूको नाममा समाजमा विभाजन र भ्रम फैलाउने प्रयास गरिरहेको भन्दै त्यसप्रति कडा आपत्ति जनाउनुभयो। उहाँले भन्नुभयो — “AAGSU ले सदैव गोर्खा समाजको हितका लागि पारदर्शी र निस्वार्थ भावनाले कार्य गर्दै आएको छ। गोर्खा समुदायको अस्तित्व, अस्मिता र पहिचानको सुरक्षा हाम्रो पहिलो दायित्व हो।”

श्री शर्माले साथै हाल कार्बि आङलङ र आसपासका सीमावर्ती क्षेत्रमा बढ्दो सामाजिक चुनौतीका बीच पनि गोर्खा समुदायले आफ्नो एकता कायम राख्नुपर्ने र शिक्षा, भाषा, संस्कृति र अधिकारका विषयमा सचेत हुनुपर्नेमा जोड दिनुभयो। उहाँले हालैका AAGSU का विभिन्न सामाजिक, शैक्षिक तथा जनजागरण अभियानहरूको विस्तृत जानकारी दिँदै संगठनको आगामी योजनाबारे पनि उपस्थित जनसमूहलाई अवगत गराउनुभयो।

कार्यक्रममा AAGSU कार्बि आङलङ जिल्ला समितिका सभापति श्री नारायण छेत्री, मूल सचिव श्री संजु छेत्री, सह–सचिव श्री गोविन शर्मा, कार्यकारिणी सदस्य श्री रवि राणा, केन्द्र बोकाजान आञ्चलिक समितिका सभापति श्री राजेश घिसिङ लगायत पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रमलाई असम गोर्खा सम्मेलनका पदाधिकारी वर्ग, भारतीय गोर्खा परिसंघ(भा.गो.प.) कार्बि आङलङ क्षेत्रीय कार्यकारी सभापति श्री पुष्प जं छेत्री, नेपाली साहित्य सभा कार्बि आङलङ जिल्ला समितिका सभापति श्री छबिलाल सुब्बा, गोर्खा सांस्कृतिक समाज कार्बि आङलङका मुख्य आह्वायक श्री बलराम थापा, तथा अखिल असम गोर्खा छात्र संघ (AAGSU) अविभक्त कार्बि आङलङ जिला समितिका भूतपूर्व सभापति श्री सुरज छेत्री लगायतका अग्रज व्यक्तित्वहरूले पनि सम्बोधन गर्दै गोर्खा समाजबीच सहकार्य र एकताको आवश्यकता औंल्याएका थिए।

वक्ता हरूले असम राज्यका गोर्खा जनतामाथि भइरहेका अन्याय र असमान व्यवहारको विरुद्धमा आवाज उठाउँदै राज्य सरकारले गोर्खा जनताको अधिकार र स्वाभिमानलाई संवैधानिक ढाँचाभित्र सुरक्षित गर्नुपर्ने माग पनि राखे। सभामा स्थानीय युवा, विद्यार्थी, महिला समूह र आम नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

सभाको अन्त्यमा सर्वसम्मत रूपमा पारित प्रस्तावमार्फत गोर्खा समाजबीच आपसी सद्भाव, एकता र सहकार्यलाई सुदृढ गर्दै समुदायको हक–अधिकार र अस्मिता संरक्षणका लागि सामूहिक अभियान चलाउने प्रतिबद्धता व्यक्त गर्दै जनजागरण सभा सफलतापूर्वक सम्पन्न गरिएको घोषणा गरिएको थियो।

📤 Share this story
Scroll to Top