All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #1
October 23, 2025

ATTSA को १९औँ द्विवार्षिक अधिवेशन जोरहाटमा भव्य रूपमा सम्पन्न, AAGSU ले नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्यो

📅 October 23, 2025
✍️ AAGSU
🕒 12:01 AM

जोरहाट, १९ अक्टोबर: जोरहाट जिल्लाको मरियानी महाविद्यालयको खेलमैदानमा असम चाह जनजाति छात्र संघ (ATTSA) को १९औँ द्विवार्षिक अधिवेशन तीन दिनसम्मको सफल सञ्चालनपछि भव्य रूपमा सम्पन्न भयो। अक्टोबर १७ मा सुरु भएको यस अधिवेशनले अक्टोबर १९ मा नयाँ केन्द्रीय समितिको गठन गर्दै ऐतिहासिक रूप लिन सफल रह्यो। अधिवेशनले जगदीश बोराईलाई केन्द्रीय सभापति र सुनिल तिर्कीलाई मूल-सचिव पदमा निर्वाचित गरेको छ।

यस महत्वपूर्ण अवसरमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) का केन्द्रीय सभापति श्रीमान् सुनिल कुमार छेत्री विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँसँगै केन्द्रीय प्रचार सचिव श्रीमान सोमराज सोनार, जोरहाट, सोनितपुर र गोलाघाट जिल्ला समितिका सभापति क्रमशः श्रीमान आकाश राणा, श्रीमान दीपक सुब्बा र श्रीमान मेघराज गजमेर पनि उपस्थित थिए। साथै जोरहाट र गोलाघाट जिल्लाका AAGSU का सक्रिय कार्यकर्ताहरू तथा संघका पूर्व विद्यार्थी नेता र हाल गोर्खा सम्मेलनका सक्रिय सदस्य श्रीमान दीपक क्षेत्री पनि कार्यक्रममा सहभागी भए।

नवनिर्वाचित सभापति जगदीश बोराई र मूल-सचिव सुनिल तिर्कीले आफ्नो सम्बोधनमा पूर्व सभापति धीरज गोवालाले स्थापित आदर्श र मार्गदर्शनलाई निरन्तरता दिँदै चिह जनजाति समाजको अधिकार संरक्षण र समग्र विकासका लागि निष्ठापूर्वक काम गर्ने प्रतिज्ञा व्यक्त गरे। बिदाइ सम्बोधनमा पूर्व सभापति धीरज गोवालाले नयाँ नेतृत्वलाई जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्न आग्रह गर्दै पूर्ण विश्वास प्रकट गरे।

कार्यक्रममा विभिन्न जिल्ला समितिका प्रतिनिधिहरूको उपस्थितिले सामाजिक एकता र जागरणको संदेश फैलायो। अखिल असम गोर्खा छात्र संघ (AAGSU) ले ATTSA को नयाँ नेतृत्वलाई हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा दुवै समुदायबीच सहयोग र ऐक्यताको सम्बन्ध अझ सुदृढ बनाउने आह्वान गरेको छ।

📤 Share this story
← First Story in Issue
Scroll to Top