
तिनीघरिया, शोणितपुर, नोभेम्बर ३: तिनीघरिया गोर्खा युवामञ्चद्वारा आयोजित ‘प्रथम वार्षिक तिहार समारोह–२०२५’ अत्यन्तै आकर्षक, अनुशासित र सांस्कृतिक वैभवले ओतप्रोत वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ। गोर्खा समुदायको गौरवपूर्ण संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने तथा नव–पीढीमा सांस्कृतिक चेतना, सह–अस्तित्व र समाजसेवाको भावना जगाउने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रमले सम्पूर्ण तिनीघरिया क्षेत्रलाई उत्सवमय बनाएको छ।
उक्त समारोहमा स्थानीयवासी, विद्यार्थी, शिक्षक, समाजसेवी र विभिन्न संगठनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य अतिथिको रुपमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) का केन्द्रीय सभापति सुनिल छेत्रीले उपस्थित हुनुहुथ्यो ।केन्द्रीय समितिबाट कार्यालय सचिव बिकास शर्मा पनि सहभागी हुनुहुन्थो । सभापति छेत्रीले आफ्नो सम्बोधनमा युवाहरूमा संगठनात्मक भावना, अनुशासन र समाजप्रतिको उत्तरदायित्वको महत्त्व औंल्याउँदै भन्नुभो , “संस्कृति कुनै प्रदर्शनको वस्तु होइन, यो हाम्रो पहिचान र अस्तित्वको आधार हो। तिनीघरिया गोर्खा युवामञ्चले तिहारजस्तो सांस्कृतिक पर्वलाई सामूहिक चेतनाको उत्सवमा रूपान्तरण गरी सन्देशमूलक कदम चालेको छ, जुन प्रेरणादायी उदाहरण हो।”
उहाँले अखिल असम गोर्खा छात्र संघ (AAGSU) ले राज्यका विभिन्न जिल्लाहरूमा समुदायका मुद्दा, शिक्षा, रोजगार र सांस्कृतिक संरक्षणका अभियानहरू निरन्तर अघि बढाइरहेको कुरा स्मरण गराउँदै युवामञ्चका सदस्यहरूलाई सामाजिक उत्तरदायित्वमा सक्रिय भूमिका खेल्न आह्वान गर्नुभयो। उहाँका अनुसार, “गोर्खा समुदायको शक्ति युवामा निहित छ — यदि ती ऊर्जा र प्रतिबद्धता एउटै उद्देश्यमा केन्द्रित भयो भने समाजको समृद्धि स्वतः सुनिश्चित हुन्छ।”
कार्यक्रममा बलिष्ठ नारीकण्ठ दक्षिणा देवी गजुरेल विशेष अतिथिको रूपमा उपस्थित रहनु भएको थियो। उहाँले आफ्नो मन्तव्यमा तिहार पर्वलाई “मानवता, भाइचारा र आत्मीय सम्बन्धको पर्व” भनेर व्याख्या गर्दै महिलाको सशक्त सहभागिता र नेतृत्वको आवश्यकता जोड दिनुभयो। उहाँले भन्नुभो, “संस्कार र संस्कृति महिलाको हातबाटै सन्तुलित रहन्छ। युवामञ्चले गरेको यो सामूहिक प्रयास नारी सशक्तिकरणको दृष्टिकोणबाट पनि महत्वपूर्ण छ।”
त्यस्तै, शोणितपुर जिल्ला समिति (AAGSU) का सभापति दिपक सुब्बा, त्यागबिर हेमबरुवा महाविद्यालयका नेपाली विभागका प्राध्यापक तिलक शर्मा, र शोणितपुर जिल्ला परिषद्की अध्यक्षा मनिषा उपाध्यायले पनि समारोहमा सान्निध्य प्रदान गर्नुभयो। तिनीहरूले तिनीघरिया युवामञ्चको क्रियाशीलता र संगठनात्मक प्रतिबद्धताको प्रशंसा गर्दै युवाहरूले समाज निर्माणमा शिक्षा, नैतिकता र सांस्कृतिक गौरवलाई एकसाथ अघि बढाउनुपर्ने धारणा राखे।
औपचारिक सत्रपछि सुरु भएको सांस्कृतिक कार्यक्रमले सम्पूर्ण दर्शकलाई मन्त्रमुग्ध बनायो। स्थानीय कलाकारहरू, विद्यार्थी र युवायुवतीहरूले पारम्परिक पोशाकमा सजिएर देउसी–भैलो, गोर्खाली लोकनृत्य, देशभक्तिपरक गीत र सांस्कृतिक नाटक प्रस्तुत गरे। प्रस्तुतिहरूले गोर्खा समुदायको सांस्कृतिक गहिराइ र कला–प्रतिभाको उज्यालो झल्को प्रस्तुत गरे। सांस्कृतिक सत्रका क्रममा दर्शकहरूले निरन्तर ताली बजाएर कलाकारहरूलाई उत्साहित बनाइरहे।
कार्यक्रमको एक आकर्षक पक्ष भनेको सामूहिक “दीप प्रज्वलन” थियो, जसले तिहार पर्वको प्रतीकात्मकता — अन्धकारमाथि प्रकाशको विजय, असमानतामाथि एकताको सन्देश — प्रकट गर्यो। दीपमालाको उज्यालोले सम्पूर्ण मञ्चलाई आलोकित पार्दै समाजमा उज्यालो चेतनाको आशा जगायो।
यस अवसरमा तिनीघरिया गोर्खा युवामञ्चका पदाधिकारीहरूले संस्थाको स्थापनाको उद्देश्य, विगत एक वर्षमा सञ्चालन गरिएका गतिविधिहरू र आगामी योजनाहरूको खाका प्रस्तुत गरे। उनीहरूले शिक्षा सहयोग, वातावरण संरक्षण, नारी सशक्तिकरण, तथा युवाहरूलाई सामाजिक नेतृत्वतर्फ उन्मुख गराउने कार्यहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए। साथै, कार्यक्रमको समापन सत्रमा उपस्थित अतिथिहरू, स्थानीय प्रशासन, तथा सहयोगी संस्थाहरूलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो।
समग्रमा, तिनीघरिया गोर्खा युवामञ्चको यो प्रथम तिहार समारोह केवल पर्व मनाउने अवसर मात्र बनेन; यसले गोर्खा समाजभित्रको ऐक्य, सांस्कृतिक गर्व र आत्म–पहिचानप्रतिको प्रतिबद्धतालाई अझ गहिरो अर्थमा पुनर्जीवित गर्यो। उपस्थित सबै सहभागीहरूको एकमत मत रह्यो कि यस्ता कार्यक्रमहरूले गाउँ–समाजमा सकारात्मक सोच, सामूहिक भावना र सामाजिक उत्तरदायित्वको चेतना जगाउने कार्य गर्छन्।
कार्यक्रमले एक सशक्त सन्देश दियो — “संस्कृति हाम्रो आत्मा हो, र आत्माको रक्षा नै समाजको बल हो।
✒ पुनम कार्कि-आग्सुकर्मी,खनामुख।
