
तामुलपुर, ११ नोभेम्बर: अखिल असम गोर्खा छात्र संघ, पूर्व डेफेली आञ्चलिक समितिको उद्योग तथा भोलाझार शाखा समितिको सहयोगमा गत् ०९ नोभेम्बरमा तामुलपुर जिल्ला अन्तर्गत पूर्व डेफेलीको बंगालीपाडास्थित भोलाझार बंगालीपाडा हाईस्कूल खेल मैदानमा एकदिवसीय कार्यसूचीले १९ औं वार्षिक रमाइलो तिहार समारोह– २०२५ सफलतापूर्वक सम्पन्न हुन्छ।
कार्यसूची अनुसार, बिहान ८ बजे अखिल असम गोर्खा छात्र संघ, पूर्व डेफेली आञ्चलिक समितिका सभापति विशाल मैनालीले संस्थाको झण्डोत्तोलन गरेपश्चात् कार्यवाहक मूल सचिव दिग्विजय लुइँटेलले शहीद तर्पण गरेका थिए। त्यसपश्चात् क्रमशः बिहान ८.४५ बजे कलाकार प्रयात जुबिन गार्ग प्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम, बिहान ९ बजे वृक्षरोपण कार्यक्रम र बिहान १० बजे पूर्व डेफेली अञ्चलका विद्यार्थीहरूमाझ हाजिरी जवाफ प्रतियोगिता सम्पन्न हुन्छ भने दिउसो १२ बजेदेखि साहित्य गोष्ठी सम्पन्न हुन्छ।
यता, बेलुका ४ बजेदेखि कार्यक्रमको आमा सभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न हुन्छ। पूर्व डेफेली आञ्चलिक समितिका सभापति विशाल मैनालीको सभापतित्वमा सम्पन्न भएको आम सभा तथा सांस्कृतिक कार्यक्रम पूर्व मूल सचिव जीत बहादुर प्रधानले उद्घाटन गरेका थिए भने स्वागतकारिणी समितिका सभापति भीम प्रसाद ओलीले स्वागत भाषण दिएका थिए। पूर्व डेफेली आञ्चलिक समितिका कार्यवाहक मूल सचिव दिग्विजय लुइँटेल र तामुलपुर जिल्ला समितिका सचिव विप्लव चिमरियाले सञ्चालन गरेको आम सभा तथा सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा अखिल असम गोर्खा छात्र संघका सभापति सुनील कुमार छेत्री उपस्थित थिए भने तिनसँग उप सभापति सञ्जीव चौहान, उप सभापति राजु बजगाईं, सचिव जन कुमार चौहान, प्रचार सचिव सोमराज सोनार, कार्यालय सचिव विकाश शर्मा, सह सांस्कृतिक सचिव त्रिदेव बिष्टको साथै तामुलपुर जिल्ला समितिका सभापति कार्यवाहक राजु तामाङ र मूल सचिव टङ्क भट्टराई उपस्थित थिए। उक्त कार्यक्रममा प्रयात जुबिन गार्गको जीवन दर्शन सन्दर्भमा युवा साहित्यकार भवेश नाथले वक्तव्य राखेका थिए। साथै सो कार्यक्रममा तामुलपुर र ओदालगुडी जिल्लाका धेरै विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सांस्कृतिक कार्यक्रममा परम्परागत देउसी र भैलीको साथै मारुनी नाच, खुकुरी नृत्य, तामाङ सेलो, लाखे नाच, हुर्रा नृत्य र बहुजातीय नृत्य प्रदर्शन गरिएको थियो।
उक्त कार्यक्रममा साँझ ५ बजे दीप प्रज्वलन गरेपश्चात् साँझ ५.१५ बजे कलाकार प्रयात जुबिन गार्गको स्मृतिमा १०० भन्दा अधिक स्थानीय कलाकारहरूले सामूहिक रूपमा ‘मायाबिनी रातिर बुकुत’ गीत प्रस्तुत गरेका थिए।
यता, रात्री ९ बजेदेखि सम्पन्न भएको रमाइलो सांस्कृतिक साँझको कार्यक्रममा असमका लोकप्रिय कलाकार रोहित सोनार र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार धिराज शर्माले गीतका कोसेली पस्किएका थिए।
प्रतिवेदन: विप्लव चिमरिया, सचिव, तामुलपुर जिल्ला समिति, आग्सु
