
डिमौ, १६ नोभेम्बर २०२५— अखिल असम गोर्खा छात्र संघ ( आग्सु ) डिमौ आंचलिक समिति र असम नेपाली साहित्य सभा, डिमौ शाखाको संयुक्त पहलमा डिमौ गोर्खा भवन प्राङ्गणमा तिहार बिदाई समारोह एकदिवसीय विशेष कार्यसूचीसहित भव्य रूपमा सम्पन्न भयो। सांस्कृतिक चेतना, समुदायिक एकता र परम्परागत पहिचानलाई जीवित राख्ने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रमले स्थानीय समुदायमा उत्साह, उमङ्ग र सौहार्दको अनुकूल वातावरण निर्माण गर्न सफल भयो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा देउसी–भैली तथा सङ्गिनी जस्ता परम्परागत तिहारका सांस्कृतिक पक्षलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगितात्मक प्रस्तुति राखिएको थियो। विभिन्न गाउँ–टोल र युवा समूहहरूले परम्परागत लवज, लय र नृत्यमा आधारित प्रस्तुति दिएर दशैं–तिहारको सांस्कृतिक भावनालाई उजागर गरे। सहभागी टोलीहरूले मौलिक पोसाक, भाका, नृत्य शैली तथा समुहको तालमेलका माध्यमबाट सांस्कृतिक सम्पदाप्रतिको आस्था झल्काएका थिए। सम्मानित निर्णायक मण्डलले मौलिकता, अभिव्यक्ति, तालमेल र प्रस्तुतीकरणलाई आधार मानेर विजेताहरूलाई छानिएको जानकारी गराए।
साँझको सांस्कृतिक सन्ध्यालाई विशेष बनाउँदै चर्चित कलाकार सुरज सापकोटा र रोहन सिटौलाको आकर्षक प्रस्तुतीले कार्यक्रममा उपस्थित सयौँ दर्शकलाई मन्त्रमुग्ध बनायो। लोकगीत, आधुनिक गीत र सांस्कृतिक भाकाहरूमार्फत कलाकारहरूले तिहारको रौनकलाई अझ उज्यालो बनाएका थिए। स्थानीय युवा कलाकारहरूले पनि आफू–आफ्नो प्रतिभा प्रस्तुत गर्दै सांगीतिक माहोललाई थप जीवन्त बनाएका थिए।
उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ, धेमाजी जिल्लाका सभापति सोमरा जपुरी, मूल-सचिव दिलिप खनाल तथा संघका विभिन्न शाखा र आंचलिक समितिका पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थिति विशेष उल्लेखनीय रह्यो। अतिथिहरूले तिहारजस्ता महान चाडले समुदायबीच प्रेम, सौहार्द र सहकार्यको भावना बलियो बनाउँदै गोर्खाली समाजलाई एक सशक्त दिशातर्फ अघि बढाउन मद्दत पुर्याउने जनाए। साथै हरेक गतिविधिमा युवाहरूको सक्रिय सहभागिताले समुदायको भविष्य सुरक्षित र समृद्ध बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका आयोजकहरूका अनुसार तिहार बिदाई समारोहको उद्देश्य केवल पर्वको विदाई मात्र होइन, सांस्कृतिक पहिचानलाई भावी पुस्तामा हस्तान्तरण गर्ने माध्यम पनि हो। परम्पराको जगेर्ना, सामाजिक एकता, कला–संस्कृतिको प्रवर्द्धन तथा समुदायबीचको आपसी सहयोगलाई स्थायी बनाउन यस्ता कार्यक्रमहरू अपरिहार्य रहेको आयोजक समितिको भनाइ थियो।
अन्त्यमा, सांस्कृतिक प्रतियोगिताका विजयी समूहहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गर्दै कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको घोषणा गरियो। सहभागी, कलाकार, अतिथि तथा स्थानीय बासिन्दाहरूको सक्रियता र उत्साहले डिमौको तिहार बिदाई समारोह नेपाली समुदायको सांस्कृतिक जीवन्तता र एकताको अद्भुत उदाहरणका रूपमा स्थापित भयो।
प्रतिवेदन: प्रदीप धमाला- मूल-सचिव, डिमै आञ्चलिक समिति (आग्सु )
