
डिमौ, नवेम्बर 24: आज अखिल असम गोर्खा छात्र संघ (AAGSU) डिमौ अञ्चलिक समितिले शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्याउने उद्देश्यले HSLC परीक्षार्थीहरूका लागि एक महत्वपूर्ण शैक्षिक पहलको शुभारम्भ गरेको छ। डिमौ अञ्चल अन्तर्गत रहेका सबै छात्र–छात्रालाई समेट्दै डिमौ शंकरदेव शिशु विद्या निकेतनमा २४ नोभेम्बर २०२५ देखि १६ फेब्रुअरी २०२६ सम्म सञ्चालन हुने अंग्रेजी, विज्ञान र गणित विषयका विशेष कक्षा प्रारम्भ गरिएको हो।
शैक्षिक गुणस्तरमा वृद्धि गर्दै विद्यार्थीहरूलाई बोर्ड परीक्षाको सुदृढ तयारी गराउने उद्देश्यले गरिएको यो प्रयास अञ्चलिक समितिको महत्वपूर्ण कदमका रूपमा लिइएको छ। विषयगत कक्षा सञ्चालनका लागि योग्य शिक्षकमण्डल तथा आवश्यक शैक्षिक वातावरण सुनिश्चित गर्दै विद्यार्थीहरूलाई नियमित पाठ–पठन, अभ्यास तथा शंकासमाधानका लागि अनुकूल वातावरण तयार गरिएको अञ्चलिक समितिले जनाएको छ।
कार्यक्रमको प्रारम्भिक सत्रमा धेमाजी जिल्लाका सभापति सोम राजपुरी, उपसभापति ओम प्रकाश क्षेत्री, सह–शिक्षा सचिव विष्णु ढुङ्गाना, साथै विद्यालय पक्षबाट शंकरदेव शिशु विद्या निकेतनका परिचालन सञ्चालक रन्जित सुतियाको विशेष उपस्थिति रहेको थियो। उहाँहरूले विद्यार्थीहरूलाई लक्ष्यप्रति समर्पित हुन प्रेरणा प्रदान गर्दै पद्धतिगत अध्ययन तथा नियमित अभ्यासले मात्र उत्कृष्ट नतिजा हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
AAGSU डिमौ अञ्चलिक समितिले शिक्षा क्षेत्रलाई आफ्नो प्राथमिकतामा राख्दै यस प्रकारका उपयोगी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। स्थानीय अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापनले समेत यो पहललाई अत्यन्त सराहना गरेका छन्।
डिमौ क्षेत्रमा HSLC परीक्षार्थीका लागि प्रारम्भ भएको यो नियमित विशेष कक्षा विद्यार्थीहरूका शैक्षिक सुधार र भविष्यका सफलता यात्रामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्रतिवेदन: प्रदीप धमाला- मूल-सचिव, डिमौ अञ्चलिक समिति ( आग्सु) ।
