
गुवाहाटी, नवेम्वर 30 : असम गोर्खा छात्र संघ (AAGSU) ले आफ्नो गौरवशाली ५०औँ प्रतिष्ठा दिवसको अवसरमा संगठनभित्रको सहकार्य र एकतालाई मजबुत बनाउने उद्देश्यका साथ एक अत्यन्तै महत्वपूर्ण ऐतिहासिक निर्णय सार्वजनिक गरेको छ। संगठनका विभिन्न तहका समितिहरूले विगतका दिनहरूमा केही व्यक्तिहरू माथि संगठनका कार्यक्रम, अभियान वा गतिविधिहरूमा सहभागी हुन नसक्ने सबै प्रतिबन्ध, असहयोग प्रस्ताव तथा असहभागितासम्बन्धी निर्णयहरू आजदेखि पूर्ण रूपले फिर्ता लिइने आग्सु को केन्द्रीय कार्यकारिणी सभाले घोषणा गरेको हो। यसले संगठनभित्र पुनः एकता, समन्वय र साझा उद्देश्यलाई केन्द्रमा राखी अघि बढ्ने वातावरण निर्माण गरेको बताइएको छ।
आज, अंग्रेजी मिति गुहाटीस्थित संघको केन्द्रीय कार्यालय, ऐतिहासिक नेपाली मन्दिरको प्राङ्गणमा सम्पन्न अखिल असम गोर्खा छात्र संघ (आग्सु) को केन्द्रीय कार्यकारिणी सभाले स्वर्ण जयन्ती वर्ष लाई भव्य, प्रभावकारी र ऐतिहासिक वर्षका रूपमा मनाइने निर्णय गर्दै महत्वपूर्ण कार्ययोजना पारित गर्यो। सभामा संघको संगठनात्मक वर्तमान अवस्था, विभिन्न जिल्ला तथा क्षेत्रीय समितिहरूमा भइरहेको दिगो गतिविधि, भविष्यका कार्यक्रमहरूको खाका तथा गोर्खा समुदायका पक्षमा संघले निरन्तर उठाउँदै आएको पहिचान, अधिकार र सामाजिक मुद्दाहरूलाई थप सशक्त र प्रभावकारी ढङ्गले अघि बढाउने रणनीतिहरूमा विस्तृत छलफल गरिएको थियो।
दुलियाजनमा आयोजना हुन लागेको ‘स्वर्ण जयन्ती उद्घाटन समारोह’ आग्सु को इतिहासकै एक अत्यन्त विशाल तथा महत्वपूर्ण समारोह हुने अनुमान गरिएको छ। यसै तयारी अन्तर्गत केन्द्रीय समितिबाट निमन्त्रण–पत्र, रसीद पुस्तिका तथा प्रचार–प्रसार सामग्रीहरू सम्बन्धित जिल्ला समितिहरूलाई प्रदान गरिएको छ, जसले जिल्लास्तरमा सहभागिता विस्तार, प्रचार सुदृढीकरण तथा जनसम्पर्क अभियानलाई बलपुर्याउने विश्वास लिइएको छ। संघका पदाधिकारीहरूले असमभरिका सबै जिल्लामा उत्साहपूर्वक प्रचार–प्रसार अभियान सञ्चालन गरी स्वर्ण जयन्ती वर्षलाई असल रूपले मनाउन आह्वान गरेका छन्।
आजको केन्द्रीय कार्यकारिणी सभामा बोडोल्याण्ड क्षेत्र (BTR) क्षेत्रीय समिति, धेमाजी, लखिमपुर, बिश्वनाथ, शोणितपुर, उदालगुड़ी, डिमा हासाओ, होजाईलगायतका जिल्लाहरूका समितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित प्रतिनिधि तथा पदाधिकारीहरूले संघको पाँच दशक लामो संघर्ष, सामाजिक–शैक्षिक अभियान, पहिचान संरक्षण तथा गोर्खा समुदायको हकहितका लागि चालेका ऐतिहासिक कदमहरूको स्मरण गर्दै आगामी यात्रामा अझ सुदृढ, अनुशासित र एकीकृत रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
केन्द्रीय कार्यकारिणी सभाले संगठनभित्रको अखण्डता, अनुशासन, पारदर्शिता तथा सामूहिक नेतृत्व नै आगामी वर्षहरूको मूल ढाँचा हुने पुनः पुष्टि गर्दै स्वर्ण जयन्ती वर्षका सबै कार्यक्रमहरूलाई साझा अभियानका रूपमा सफल बनाउन सबै तहका समिति, सदस्य, शुभेच्छुक तथा समर्थकहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। उपस्थित वरिष्ठ पदाधिकारीहरूले संगठनको ५० वर्षको लामो यात्राले AAGSU लाई अनुभव, जनविश्वास र संगठनात्मक परिपक्वताको उच्च स्तरमा पुर्याएको उल्लेख गर्दै अबका दशकहरूमा गोर्खा समुदायको पहिचान, अधिकार र हितका सवालमा थप सबल अभियान चलाइने धारणा व्यक्त गरे।
यसरी, अखिल असम गोर्खा छात्र संघ (आग्सु) ले आफ्नो स्वर्ण जयन्ती वर्षलाई संगठनात्मक एकता, सामाजिक जिम्मेवारी र समुदायप्रतिको समर्पण सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्दै ऐतिहासिक निर्णय र कार्ययोजनाको सुरुवात गरिसकेको छ। विभिन्न तहका समितिहरूको सक्रिय सहभागिता र दृढ प्रतिबद्धताले स्वर्ण जयन्ती वर्षका आगामी कार्यक्रमहरू भव्य, विराट तथा ऐतिहासिक हुने स्पष्ट संकेत दिएको छ