
लखिमपुर, डिसेम्बर 4: अखिल असम गोर्खा छात्र संघ (आग्सु ) लखिमपुर जिल्ला समिति अन्तर्गत हारमती आञ्चलिक समितिको उद्योग साथै पुर्व डिकरंङ, सिमलुगुरी-राजगढ डंगिबिल, पथालिपाहार र नारायणपुर आञ्चलिक समितिहरूको संयुक्त पहलमा आगामी 8 डिसेम्बर 2025 का दिन लखिमपुरमा दुई घण्टे अवस्थान–धर्मघट कार्यक्रम आयोजना गरिन लागिएको छ।
लखिमपुर जिल्लामा दशकौँदेखिको “गोर्खा समुदायको भूमि–समस्या” अझै समाधान नहुनु, ट्राइबल बेल्ट–ब्लकहरूभित्र गोर्खाहरूलाई “सुरक्षित श्रेणी” को मान्यता नदिइनु तथा जग्गा सम्बन्धी कागजात आदिमा निरन्तर देखिएको ढिलासुस्तीका कारण संघका विभिन्न तहका समितिहरूले यो कार्यक्रमलाई अत्यावश्यक कदमका रूपमा अघि सारेका छन्।
हारमती गोर्खा भवन परिसरमा बिहान १० बजेदेखि सुरु हुने यो अवस्थान–धर्मघटमा लखिमपुरबासी गोर्खा समुदायका अग्रज, युवाहरू, विद्यार्थी, महिला समूह तथा विभिन्न सामाजिक–सांस्कृतिक संस्थाहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। यो कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण, लोकतान्त्रिक र अधिकार–केन्द्रित रूपमै सम्पन्न हुनेछ।
गोर्खा समुदायले राज्यको सामाजिक–आर्थिक संरचना बलियो बनाउने क्रममा पुर्याएको योगदान उल्लेखनीय रहे पनि भूमिसम्बन्धी अधिकारमा निरन्तर उपेक्षा हुँदै आएको भन्दै संघका पदाधिकारीहरूले आगामी ८ डिसेम्बरको कार्यक्रम राज्य सरकारलाई कडा सन्देश दिने अवसर हुने जनाएका छन्।
सङ्घका स्थानीय नेतृत्वले विगत लामो समयदेखि ट्राइबल बेल्ट–ब्लक भित्र गोर्खा समुदायको कानुनी अधिकार सुनिश्चित गराउन माग गर्दै आएका छन्। तर अपेक्षित निर्णय नआएपछि अब समुदाय स्वयं सशक्त आवाज उठाउन बाध्य भएको उनीहरूको भनाइ छ।
आगामी ८ डिसेम्बरको अवस्थान–धर्मघटमा “भूमि–अधिकार अबिलम्ब सुनिश्चित गर”, “सुरक्षित श्रेणीको मान्यता हाम्रो अधिकार”, “गोर्खा समुदायमाथिको अन्याय बन्द गर” जस्ता नारा र मागहरू सशक्त रूपमा उठाइनेछ भनेर आयोजकवर्गले जानकारी गरायेका छन।
अन्त्यमा, अखिल असम गोर्खा छात्र संघ (आग्सु) लखिमपुर जिल्ला समितिले सम्पूर्ण लखिमपुरबासी गोर्खा समुदायलाई कार्यक्रममा सहभागित भै आफ्नो अधिकार–संघर्षलाई मजबुत बनाउन आग्रह गरेको छ। ८ डिसेम्बरको अवस्थान–धर्मघट गोर्खा समुदायको भावी भूमि–अधिकार सुरक्षासम्बन्धी संघर्षको महत्वपूर्ण मोड सावित हुनेछ भन्ने आत्मविश्वास आयोजक समितिले व्यक्त गरेको छ।
प्रतिवेदन: युवराज कटोवाल- सभापति, लखिमपुर जिला समिति (आग्सु)।