
तिराप–जागुन, डिसेम्बर ०६: अखिल असम गोर्खा छात्र संघ (आग्सु ) तिराप–जागुन आञ्चलिक समितिको सैोजन्यमा तथा Assam Rifles को सक्रिय र प्रभावशाली सहयोगमा आयोजित 10th edition शहीद मेजर दुर्गा मल्ल जिल्ला स्तरीय फुटबल प्रतियोगिता २०२५ शनिबार एक सांस्कृतिक र खेल–उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।
शहीद मेजर दुर्गा मल्लको बलिदानी भावना, राष्ट्रियता तथा गोर्खा पहिचानलाई खेलकुदमार्फत नयाँ पुस्तामा प्रवाह गर्ने उद्देश्यले निरन्तर आयोजित हुँदै आएको यो प्रतियोगिता यस वर्ष पनि विशेष उत्साह, व्यापक सहभागिता र उत्कृष्ट व्यवस्थापनका साथ सम्पन्न भएको उपस्थितहरूले बताएका छन्। खेलकुदले समाजमा एकता, शिस्त र सद्भाव बढाउँछ भन्ने मुल्यलाई आधार बनाएर गरिएको यो आयोजना स्थानीय स्तरमा सबैभन्दा प्रतिष्ठित प्रतियोगितामध्ये एक मानिन्छ।
समापन समारोहमा असम राइफल्सका मेजर रोहित, अखिल असम गोर्खा छात्र संघ (आग्सु)का केन्द्रीय मूल–सचिव नुमुल छेत्री, स्थानीय विधायक भास्कर शर्मा, GDC अध्यक्ष प्रेम तामाङ, स्थानीय गाउँबुढा, प्राक्तन आग्सु कार्यकर्ताहरू, अञ्चलका सम्मानित गणमान्य व्यक्तिहरू, तथा जिल्ला, आञ्चलिक र शाखा समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरूले शहीद दुर्गा मल्लप्रतिको श्रद्धान्जली व्यक्त गर्दै खेलकुदप्रति युवाहरूको आकर्षण र अनुशासित भविष्य निर्माणमा यस्ता कार्यक्रमहरूको महत्त्वलाई जोड दिएका थिए।
यस वर्षको फाइनल खेल Alfa FC र Rhino FC बीच प्रतिस्पर्धात्मक तथा रोमाञ्चक रूपमा सम्पन्न भयो। खेलको प्रारम्भदेखि नै दुवै टोलीले उत्कृष्ट खेलकौशल प्रदर्शन गर्दै मैदानमा दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए। कडा प्रतिस्पर्धा, उच्च स्तरको डिफेन्स र तीव्र आक्रमणबीच भएको भिडन्तमा अन्ततः Alfa FC ले 1–0 को गोलअन्तरमा विजयी बन्दै ‘Champions ’ को उपाधि हात पार्न सफल भयो।
खेलकुद क्षेत्रमा उदाउँदै गरेका स्थानीय युवाहरूको प्रतिभा पहिचान, प्रोत्साहन र प्रसारका लागि आग्सु तिराप–जागुन आञ्चलिक समितिद्वारा गत दशकदेखि निरन्तर गरिएको प्रयासलाई अतिथिहरूले उच्च प्रशंसा गरेका थिए। विशेषगरी Assam Rifles को सहयोग, स्थानीय सरोकारवालाहरूको साथ र समुदायको उत्साहजनक उपस्थिति यस वर्षको प्रतियोगितालाई अझ भव्य र सफल बनाउन सहयोगी बनेको आयोजक समितिको भनाइ थियो।
समापन अवसरमा विजयी टोलीलाई ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट खेलाडी, गोलरक्षक र अनुशासित टिमका कैयौँ खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो, जसले प्रतियोगितालाई अझ प्रेरणादायी बनायो।
शहीद मेजर दुर्गा मल्लको नाममा समर्पित यो प्रतिष्ठित फुटबल प्रतियोगिता भविष्यमा अझ व्यापक रूपमा विस्तार गर्दै युवापुस्तालाई खेलकुदमार्फत सशक्त बनाउने अठोट आयोजक समितिले व्यक्त गरेको छ। तिराप–जागुन क्षेत्रमा खेलकुदको विकास, स्वस्थ प्रतिस्पर्धा र सामाजिक एकतालाई बढावा दिने उद्देश्यका साथ आगामी वर्षहरूमा अझ उच्च स्तरमा आयोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
प्रतिवेदन: सागर भट्टराइ-सांगठनिक सचिव, तिराप-जागुन आञ्चलिक समिति ( आग्सु)।
