All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #8
December 11, 2025

उदालगुडी आञ्चलिक समितिको शपथ ग्रहण समारोह सम्पन्न

📅 December 11, 2025
✍️ AAGSU
🕒 12:06 AM

उदालगुडी, दिसम्बर 10: गत् अङ्ग्रेजी 07/12/2025 को दिन जिल्ला कार्यालय परिसरमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) उदालगुडी आञ्चलिक समितिको शपथ ग्रहण समारोह गरिमामय वातावरणमा सम्पन्न भएको छ। संगठनको गौरव, अनुशासन र सङ्गठित भावनालाई झल्काउने यस समारोहमा विभिन्न शाखाका प्रतिनिधि, सामाजिक अगुवाहरू तथा सम्मानित अतिथिहरूको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रमले उदालगुडी आञ्चलिकको नेतृत्वको नयाँ यात्रालाई औपचारिकता प्रदान गर्दै संगठनात्मक प्रतिबद्धताको पुनःप्रतिज्ञा गर्ने महत्वपूर्ण अवसर बनाएको छ।

उक्त समारोहको अध्यक्षता उदालगुडी आञ्चलिक समितिका निवर्तमान सभापति सुरज छेत्री ज्यूले गर्नुभयो। उहाँले निरन्तरता, जिम्मेवारी र संगठनप्रतिको समर्पणलाई अझ सबल बनाउनु सबैको दायित्व रहेको जनाउँदै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै, कार्यक्रम सञ्चालनको जिम्मेवारी निवर्तमान मूल–सचिव चन्दन थापा ज्यूले वहन गर्नुभएको थियो, जसले सम्पूर्ण कार्यक्रमलाई सुव्यवस्थित, शिष्ट र अनुशासित ढंगले अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

समारोहका प्रमुख अतिथि तथा अखिल असम गोर्खा छात्र संघ उदालगुडी जिल्ला समितिका माननीय कार्यकारिणी सदस्य नवीन दाहाल ज्यूले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथवाचन गराउनुभयो। उहाँले संगठनको नीति, सिद्धान्त र आदर्शप्रति निष्ठावान रहँदै समुदायको हकहितमा कार्य गर्न प्रेरित गर्दै नयाँ नेतृत्वको आगामी यात्राका लागि शुभेच्छा व्यक्त गर्नुभयो।

सोही अवसरमा जिल्ला समितिका उप–सभापति मान्यवर सञ्जीव चौहान ज्यू, प्रचार सचिव नव शर्मा ज्यू तथा उदालगुडी आञ्चलिक समितिका प्राक्तन सभापति मान्यवर मनोज राउत ज्यूले संगठनको लक्ष्य, चुनौती, सदस्यहरूको भूमिका तथा वर्तमान आवश्यकताका विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभयो। उहाँहरूको मार्गदर्शनले नयाँ पदाधिकारीहरूलाई संगठनात्मक जिम्मेवारीका क्षेत्रमा अझ स्पष्ट दृष्टिकोण तथा कार्यदिशा प्रदान गरेको प्रत्यक्ष अनुभव गरिएको थियो।

कार्यक्रममा विभिन्न शाखाका पदाधिकारी, प्रतिनिधि, बुद्धिजीवी, सामाजिक अभिभावक तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेकाले समारोहको महत्व झनै बढेको थियो। सहभागीहरूको उत्साह, समर्थन तथा उपस्थितिले AAGSU प्रती कायम रहेको सामूहिक विश्वास तथा एकताको झलक प्रस्तुत गरिरहेको थियो।

यस पावन अवसरमा नवगठित उदालगुडी आञ्चलिक समितिका मान्यवर सभापति तेज बहादुर कार्की ज्यू, मान्यवर मूल–सचिव अर्जुन थापा ज्यू सहित सम्पूर्ण नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई जिल्ला समितिले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। नयाँ नेतृत्वले संगठनको मर्यादा, पहिचान, गतिविधि तथा समुदाय–सेवाको भावनालाई अझ उच्च शिखरमा पुर्‍याउने विश्वास सबैमा व्यक्त गरिएको थियो।

कार्यक्रमको समापनमा संगठनप्रति सबैको समर्पित योगदान, एकता र सक्रिय सहभागितालाई स्मरण गर्दै आगामी कार्यकाल सफल, प्रभावकारी र उपलब्धिपूर्ण रहोस् भन्ने सामूहिक शुभेच्छा व्यक्त गरिएको थियो।

प्रतिवेदन: पंकज खतिवडा – उप–सभापति, उदालगुडी आञ्चलिक समिति (AAGSU)

📤 Share this story
Scroll to Top