All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #8
December 11, 2025

बिश्वनाथ जिला समितिको बर्धित कार्यकारिणी सभा सम्पन्न।

📅 December 11, 2025
✍️ AAGSU
🕒 12:05 AM

बिहाली, दिसम्बर 7: आज अखिल असम गोर्खा छात्र संघ (AAGSU) विश्वनाथ जिला समितिको बर्धित कार्यकारिणी सभा विधिवत रूपमा सम्पन्न भएको छ। यो सभा बिहाली आञ्चलिक समितिको आयोजनामा लाचित एल.पी. विद्यालय प्राङ्गण, बराजुली गाउँमा आयोजित गरिएको हो। सङ्गठनको आन्तरिक सुदृढीकरण, आगामी कार्ययोजना, तथा वर्तमान चुनौती र अवसरहरूबारे व्यापक छलफल गर्ने लक्ष्यसहित सभा प्रारम्भ गरिएको थियो।

कार्यक्रमको सुरुवात अतिथिहरूको उपस्थितिसँगै संगठनात्मक विधि–विधानअनुसार गरिएको थियो। सभाक्रम हुँदै जाँदा अखिल असम गोर्खा छात्र संघ (AAGSU) विश्वनाथ जिल्ला समितिका सभापति ज्यूले सभापतिको आसन ग्रहण गर्दै सभाको उद्देश्य स्पष्ट रूपमा व्याख्या गर्नुभयो। उहाँले संगठनको बर्सौंदेखिको संघर्ष, हालको परिस्थितिमा गोर्खा समाजले सामना गरिरहेका समस्या, तथा तिनको समाधानका लागि आवश्यक कदमहरूबारे मार्गदर्शन गर्नुभयो।

त्यसपछि मूल–सचिवज्यूले विगत कार्यकारिणी सभापछि सम्पन्न भएका कार्यक्रमहरू, प्रगतिहरू, निर्णयहरू र आर्थिक विवरणहरू क्रमबद्ध रूपमा प्रस्तुत गर्नुभयो। साथै, अझै प्रभावकारी ढङ्गले कार्य गर्नका लागि आवश्यक सुधारका पक्षहरू औंल्याउँदै सबै आञ्चलिक समितिहरूबीच समन्वय र सक्रियताका लागि आग्रह गर्नुभयो।

सभामा उपस्थित आञ्चलिक समितिका प्रतिनिधिहरूले आफ्ना-आफ्ना क्षेत्रका समस्या, माग, तथा भावी योजना बारे महत्वपूर्ण सुझाव राखे। शिक्षादेखि भूमि समस्या, युवाहरूको सहभागिता, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र संगठनको संरचनात्मक विकासका विषयमा विस्तृत छलफल भयो। विशेषगरी गाउँ–स्तरमा संगठन विस्तार, तथ्याङ्क संकलन, सदस्यता नवीकरण, र अभियानहरूलाई अधिक प्रभावकारी बनाउने निर्णयहरूमा सबैले एकमत व्यक्त गरे।

कार्यक्रमको अन्त्यतिर सभापति ज्यूले सबै सुझाव र निर्णयहरूलाई संगठित तरिकाले कार्यान्वयन गर्दै AAGSU लाई अझै सशक्त र प्रभावशाली बनाउने दृढता व्यक्त गर्नुभयो। उहाँले सामाजिक–सांस्कृतिक पहिचान, अधिकार संरक्षण र शिक्षित–संगठित समाज निर्माणका लागि निरन्तर सक्रिय रहन सबै पदाधिकारी तथा सदस्यलाई आह्वान गर्नुभयो।

यसैगरी, बर्धित कार्यकारिणी सभा सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै कार्यक्रम समापन गरिएको छ। उपस्थित सबैलाई आयोजक समितिले धन्यवाद ज्ञापन गर्दै आगामी दिवसहरूमा अझ सुदृढ र सक्रिय रूपमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

प्रतिवेदन: प्रकाश खनाल- मूल-सचिव बिश्वनाथ जिला समिति (आग्सु)।

📤 Share this story
Scroll to Top