तिनसुकिया, डिसेम्बर 8: अरुणाचल प्रदेशको आलुबारी क्षेत्रमा दिर्घ दिनदेखि शान्तिपूर्वक बसोबास गर्दै आएका गोर्खा समुदायका मानिसमाथि केही उपद्रवी समूहद्वारा गरिएको अमानवीय आक्रमणको विरोधमा आज असम–अरुणाचल सिमानास्थित डिराक गेटमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) तिनसुकिया जिल्ला समितिले एक घण्टासम्म तीव्र प्रदर्शन आयोजना गर्यो। गोर्खा समुदायका घर–घरमा तोडफोड गर्दै जबरजस्ती उनीहरूलाई सवारी साधनमा राखी सिमानातर्फ पठाइदिएको घटनाले स्थानीय तथा क्षेत्रीय स्तरमा व्यापक आक्रोश जन्माएको छ।
तिनसुकिया जिल्लाका कार्यकर्ताहरूले अचानक निम्तिएको यो भेदभावपूर्ण व्यवहारलाई प्रदेशको सामाजिक सद्भावमाथिको गम्भीर प्रहारका रूपमा व्याख्या गर्दै दोषी उपद्रवीहरूलाई तुरुन्त पक्राउ गर्न माग गरे। प्रदर्शनका क्रममा उपस्थित सहभागिहरूले ‘गोर्खाको सुरक्षामा सम्झौता हुँदैन’, ‘दोषीलाई कडा कारबाही गर’ जस्ता नाराहरू भइरहेको थियो।
अघिल्लो केही वर्षदेखि अरुणाचल प्रदेशका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका गोर्खा परिवारहरूले स्थानीय समुदायसँग मेलमिलापपूर्ण सम्बन्ध कायम गर्दै आएका छन्। तर हालसालै देखिएको तनावले उनीहरूको दैनिक जीवन मात्र प्रभावित गरेको छैन, गोर्खा समुदायको मनोबलमा समेत ठूलो आघात पुगेको प्रदर्शनकारीहरूको भनाइ छ।
समितिले अरुणाचल सरकारलाई गोर्खा समुदायका नागरिकहरूको सुरक्षालाई प्राथमिकताका रूपमा लिन, बस्तीमा पुनः शान्ति तथा विश्वास बहालीका पहल गर्न, पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन तथा दुव्र्यवहारमा संलग्न समूहलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ। साथै, यस प्रकारका घटनाले दुई छिमेकी प्रदेशबीचको सामाजिक–सांस्कृतिक सम्बन्धमा नकारात्मक असर पार्ने भन्दै तत्काल हस्तक्षेप अत्यावश्यक रहेको पनि समितिले प्रस्ट पारेको छ।
प्रदर्शन शान्तिपूर्ण ढंगले सम्पन्न भए पनि गोर्खा समुदायमाथि परेको दबाब र भयको अवस्थामा राज्य तथा प्रशासनबाट द्रुत र दृढ कदम अपेक्षित रहेको तिनसुकिया जिल्ला समितिको धारणा छ।
प्रतिवेदन: मिलन अधिकारी- सभापति,माकुम आञ्चलिक समिति (आग्सु)।
