
सिलासुति,डिसेम्बर 12: धेमाजी जिल्ला अन्तर्गत डिमौ पुलिस चौकिका नवनियुक्त प्रहरी अधिकृत श्री पल्लव भुयान ज्यूलाई आज आग्सु सिलासुति आञ्चलिक समितिको तर्फबाट औपचारिक रूपमा स्वागत तथा सम्मान गरिएको छ। यस अवसरमा आयोजित भेटघाट कार्यक्रममा आग्सु सिलासुति आञ्चलिक समितिका पदाधिकारी, सदस्यहरू तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको क्रममा आग्सु सिलासुति आञ्चलिक समितिको तर्फबाट नवनियुक्त प्रहरी अधिकृत पल्लब भुयान ज्यूलाई नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरियो। संघका प्रतिनिधिहरूले उहाँको प्रशासनिक अनुभव, कर्तव्यनिष्ठा र नेतृत्व क्षमताले डिमौ क्षेत्रको शान्ति–सुरक्षा, सामाजिक सद्भाव र कानुनी व्यवस्थालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
भेटघाटका क्रममा आग्सु सिलासुति आञ्चलिक समितिले आगामी दिनहरूमा सामाजिक गतिविधि, विद्यार्थी–हितका कार्यक्रम तथा समुदायमुखी योजनाहरू सञ्चालन गर्दा आवश्यक परेमा सधैं प्रहरी प्रशासनसँग सहकार्य, सहयोग र समन्वयमा रहने स्पष्ट प्रतिवद्धता जनाएको छ। विशेषगरी विद्यार्थीहरूमा अनुशासन, सामाजिक चेतना र सकारात्मक सोच विकास गर्ने कार्यक्रम, नशामुक्त समाज निर्माण, शान्ति–सुरक्षा कायम राख्ने पहल तथा आपत्–विपत्का समयमा आपसी सहयोगलाई प्रभावकारी बनाउने विषयमा आपसी छलफल भएको थियो।
कार्यक्रममा वक्ताहरूले प्रहरी र समुदायबीचको आपसी विश्वास तथा समन्वय नै समाजको समग्र विकासको आधार भएको उल्लेख गर्दै विद्यार्थी संगठन, सामाजिक संस्था र प्रशासनबीच निरन्तर संवाद आवश्यक रहेको धारणा राखे। आग्सु सिलासुति आञ्चलिक समितिले सधैं कानुनको सम्मान गर्दै रचनात्मक भूमिकामा उभिएर समाजहितका गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै प्रहरी प्रशासनसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ।
नवनियुक्त प्रहरी अधिकृत श्री पल्लव भुयान ज्यूले स्वागत तथा सम्मानप्रति आभार व्यक्त गर्दै स्थानीय समुदाय, विद्यार्थी संगठन र सामाजिक संस्थाहरूसँग समन्वय कायम गरी शान्ति, सुरक्षा र सामाजिक सद्भाव प्रवर्द्धनका लागि इमान्दारीपूर्वक कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले जनमैत्री प्रहरी सेवामार्फत नागरिकको विश्वास जित्नु आफ्नो प्राथमिकता रहने कुरा समेत उल्लेख गर्नुभयो।
आपसी सद्भाव, सहकार्य र सकारात्मक सोचका साथ अघि बढ्ने संकल्प व्यक्त गर्दै “जय गोर्खा” र “जय आई असम” का नारासहित कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
प्रतिवेदन: अरुण खतिवडा- सभापति,सिलासुती आञ्चलिक समिति (आग्सु)
