
तिनसुकिया डिसेम्बर 14: तिनसुकिया जिल्ला समितिले गोर्खा समाजका महिलाहरूलाई संगठित गर्दै सामाजिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सशक्त भूमिका निर्वाह गराउने उद्देश्यका साथ जिल्ला गोर्खा नारी परिषद गठन गरिएको छ। अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समितिको पहलमा तिनसुकियाको छोटाहापजानस्थित कीर्तन मण्डली भवनको प्राङ्गणमा आज एक प्रतिनिधि सभाको आयोजना गरी उक्त परिषद गठन गरिएको हो।
प्रतिनिधि सभामा जिल्लाभरिका विभिन्न आञ्चलिक क्षेत्रबाट आएका महिला प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सभाले सर्वसम्मत निर्णय गर्दै जिना घिमिरेलाई तिनसुकिया जिल्ला गोर्खा नारी परिषदकि सभानेत्री र ज्योति लिम्बुलाई मूल-सचिवका रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिलाई अखिल असम गोर्खा छात्र संघ तिनसुकिया जिल्ला समितिका सांगठनिक सचिव जतन प्रधानले शपथ वाचन गराउँदै परिषदलाई समाजको हितमा निष्ठापूर्वक काम गर्न आग्रह गरे।
सभामा उपस्थित वक्ताहरूले गोर्खा समाजमा महिलाहरूको भूमिका झनै प्रभावकारी र नेतृत्वदायी बनाउनु आजको आवश्यकता भएकोमा जोड दिए। विशेष गरी शिक्षा, सामाजिक चेतना, सांस्कृतिक संरक्षण तथा महिला अधिकारका सवालमा संगठित प्रयासमार्फत अघि बढ्नुपर्ने धारणा व्यक्त गरियो। नवगठित परिषदमार्फत तिनसुकिया जिल्लामा रहेका गोर्खा महिलाहरूलाई एक साझा मञ्च प्रदान हुने र उनीहरूको आवाजलाई संस्थागत रूपमा अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
आजको प्रतिनिधि सभामा अखिल असम गोर्खा छात्र संघ तिनसुकिया जिल्ला समितिका सभापति अशोक कुमार लामा, मूल-सचिव शेखर गुरुङ, उप-सभापतित्रय दुर्गा खातीवारा, देव गुरुङ र पत्रिका लिम्बु, सचिवत्रय मिलन शर्मा, चन्दन लिम्बु र गोपी छेत्री, सांगठनिक सचिवद्वय जतन प्रधान र शंकर जैशी तथा कार्यालय सचिव सुखविर लिम्बु विशेष रूपमा उपस्थित थिए। उनीहरूले जिल्ला गोर्खा नारी परिषदको गठनलाई ऐतिहासिक कदमको रूपमा व्याख्या गर्दै पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
यसका साथै माकुम आञ्चलिक समितिका सभापति मिलन अधिकारी, सचिव प्रणवज्योति लामा, माकुम आञ्चलिक गोर्खा नारी परिषदकी सभापति रश्मी छेत्री तथा सचिव पबी पाण्डे लगायत तिनसुकिया जिल्ला समितिअन्तर्गतका सबै आञ्चलिक समितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित प्रतिनिधिहरूले आगामी दिनमा जिल्ला गोर्खा नारी परिषदमार्फत विभिन्न रचनात्मक कार्यक्रम, सचेतनामूलक अभियान तथा सामाजिक कार्यहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
सभाको अन्त्यमा नवगठित जिल्ला गोर्खा नारी परिषदका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै गोर्खा समाजको समग्र उन्नतिका लागि महिला नेतृत्वको भूमिका अझ सशक्त बनाउने आह्वान गरियो।
प्रतिवेदन: मिलन अधिकारी-सभापति, माकुम आञ्चलिक समिति (आग्सु)
