All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #11
January 1, 2026

गोर्खाली लोक संस्कृति कर्मशालाको सफल समापन

📅 January 1, 2026
✍️ AAGSU
🕒 12:06 AM

डिमै,२२ डिसेम्बर: संस्कृति कुनै पनि जातिको पहिचान हो । जुन जातिको संस्कृति जोगिँदैन, त्यो जाति बाँचिरहे पनि बारम्बार मरेझैँ हुन्छ । यही मूल भावनालाई आत्मसात् गर्दै गोर्खा डेभलपमेन्ट काउन्सिल (GDC) को उद्योगमा तथा अखिल असम गोर्खा छात्र संघको डीमौ आञ्चलिक समिति को सहयोगमा सञ्चालन गरिएको गोर्खाली लोक संस्कृति कर्मशालाको आज सफलतापूर्वक समापन भएको छ ।
उक्त गोर्खाली लोक संस्कृति कर्मशाला १५ डिसेम्बर २०२५ देखि २२ डिसेम्बर २०२५ सम्म निरन्तर रूपमा सञ्चालन गरिएको थियो । कर्मशालाको मुख्य उद्देश्य गोर्खाली समाजको मौलिक लोक संस्कृति, परम्परागत कला, गीत–नृत्य तथा सांस्कृतिक मूल्यहरूलाई संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु रहेको थियो । वर्तमान समयमा सांस्कृतिक पहिचान कमजोर हुँदै गएको सन्दर्भमा यस प्रकारका कर्मशालाले गोर्खाली समुदायमा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको धारणा रहेको थि
कर्मशालामा डीमौ आञ्चल अन्तर्गतका विभिन्न गाउँबाट दिदी–बहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले गोर्खाली लोक नृत्य, परम्परागत चाल–ढाल, सांस्कृतिक अनुशासन तथा सामूहिक पहिचानका विषयमा व्यवहारिक ज्ञान हासिल गर्न पाएको अनुभव व्यक्त गरेका छन् । कार्यक्रम अवधिभर सिकाइको वातावरण, आपसी सहकार्य र संस्कृतिप्रतिको समर्पणले कर्मशालालाई अझ प्रभावकारी बनाएको थियो । यस महत्वपूर्ण र दूरदर्शी कार्यक्रमको आयोजना तथा सफल सञ्चालनका लागि गोर्खा डेभलपमेन्ट काउन्सिल (GDC) ले पुर्‍याएको योगदान अत्यन्तै सराहनीय र स्मरणीय रहेको छ । गोर्खाली समाजको सांस्कृतिक जगेर्नाका लागि GDC ले देखाएको प्रतिबद्धताप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । त्यस्तै, कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनु हुने अखिल असम गोर्खा छात्र संघको डीमौ आञ्चलिक समितिले प्रत्यक्ष तथा परोक्ष रूपमा सहभागिता जनाउने सम्पूर्ण दिदी–बहिनीहरूलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दछ।
यस प्रकारका सांस्कृतिक कर्मशालाहरूले गोर्खाली पहिचानलाई मजबुत बनाउने मात्र नभई समाजलाई एकताबद्ध गर्दै भावी पुस्तालाई आफ्नो जरा र संस्कृतिसँग जोडिराख्ने विश्वास गरिएको छ । आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा संस्कृतिमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन हुने अपेक्षा गरिएको छ ।
प्रतिवेदन: राम उपाध्याय-सभापति, डीमौ आञ्चलिक समिति (आग्सु)

📤 Share this story
Scroll to Top