All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #12
January 8, 2026

Mission Quality Education 2.0 अन्तर्गत शैक्षिक जागरूकता सभा सफलतापूर्वक सम्पन्न

📅 January 8, 2026
✍️ AAGSU
🕒 12:06 AM

बेंतल 3 जानुवारी: आगामी HSLC तथा HS परीक्षालाई दृष्टिगत गर्दै, चिराङ जिल्ला अन्तर्गत अखिल असम गोर्खा छात्र संघ (आग्सु), सुनगाभा आञ्चलिक समितिको उद्योग तथा बेंतल शाखा समितिको सहकार्यमा आज, मिति 03 जनवरी 2026 ई. (शनिबार), बेंतल शाखा समिति अन्तर्गतका HSLC तथा HS तहका विद्यार्थीहरू र उहाँहरूका अभिभावकहरूलाई समेट्दै “Mission Quality Education 2.0 (Parents–Teachers–Students Meet 2026)” शीर्षकमा एक शैक्षिक जागरूकता सभा सफलतापूर्वक सम्पन्न भएको छ।
सभाको सभापतित्व आञ्चलिक समितिका सभापति श्रीमान् नवीन थापा ज्यूले गर्नुभएको थियो भने सञ्चालन आञ्चलिक समितिका मूल सचिव श्रीमान् बुद्धिमान लामा ज्यूले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई सम्बोधन गर्दै सभापतिले शैक्षिक जागरूकता, परीक्षा तयारीमा समर्पण र गुणस्तरीय शिक्षाको महत्त्वबारे प्रकाश पार्नुभयो।
सभामा मुख्य वक्ताको रूपमा शिक्षक श्रीमान् प्रतिराज भट्टराई ज्यू उपस्थित रहनु भएको थियो। उहाँले HSLC तथा HS परीक्षार्थीहरूलाई परीक्षा तयारीका रणनीति, अनुशासन, समय व्यवस्थापन, निरन्तर अभ्यास, आत्मविश्वास निर्माण र अभिभावक–शिक्षक–विद्यार्थीबीचको समन्वयको महत्त्वबारे व्यावहारिक, प्रेरणादायी तथा मार्गदर्शक विचार प्रस्तुत गर्नुभएको थियो। उहाँका विचार र सुझावहरूले उपस्थित विद्यार्थी तथा अभिभावकहरूमा आगामी परीक्षाप्रति सकारात्मक सोच र दृढ आत्मबलको विकासमा महत्वपूर्ण भूमिका खेलेको थियो।


कार्यक्रममा आग्सु BTR क्षेत्रीय समितिका उप–सभापति श्रीमान् प्रकाश छेत्री ज्यू, आञ्चलिक समितिका नेतृतवर्ग, बेंतल शाखा समितिका सभापति, मूल सचिव तथा शाखा समितिका सम्पूर्ण पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। साथै, गाउँ परिचालन समितिका कार्यकारी सभापति श्रीमान् प्रेम नेवार ज्यू, जिल्ला समितिका प्राक्तन उप–सभापति तथा वर्तमान बेंतल मनोरञ्जन क्लबका सभापति श्रीमान् कृष्ण प्रधान ज्यू, शिक्षक श्रीमान् चिन्तामणि छेत्री ज्यू, आग्सु प्रेमी, जाति प्रेमी, गाउँका बुद्धिजीवी वर्ग तथा HSLC तथा HS का परीक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उपस्थित अभिभावकहरूले कार्यक्रममा व्यक्त सुझाव, निर्देशन तथा व्यवहारिक तालिमलाई समयसापेक्ष, आवश्यक र प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए। यस अवसरमा विद्यार्थी र अभिभावकहरूले शिक्षकहरूसँग प्रत्यक्ष संवाद गर्न पाएका र आफ्नो शैक्षिक योजनालाई स्पष्ट पार्न सक्ने अवसर प्राप्त गरेको थियो।
सभामा “Mission Quality Education 2.0” कार्यक्रमको उद्देश्य स्पष्ट गर्दै, आञ्चलिक समितिले यस अभियानलाई प्रत्येक शाखामा विस्तार गर्दै विद्यार्थी, अभिभावक र शिक्षकबीच आपसी समन्वयलाई अझ सुदृढ बनाउन, गुणस्तरीय शिक्षाको दिशामा सामूहिक प्रयासलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। आगामी दिनहरूमा यस अभियान अन्तर्गत कार्यशाला, मार्गदर्शन कक्षा तथा अभिभावक–शिक्षक–विद्यार्थी संवाद कार्यक्रमहरू प्रत्येक शाखामा आयोजना गरिने जानकारी दिइयो।
कार्यक्रमको अन्त्यमा आयोजक समितिको तर्फबाट उपस्थित सम्पूर्ण अतिथि, वक्ता, शिक्षक, अभिभावक, विद्यार्थी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो। यस अवसरले बेंतल शाखा समिति अन्तर्गत शिक्षा क्षेत्रमा नयाँ जागरूकता र सकारात्मक पहलको वातावरण सिर्जना गरेको छ भन्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदन: नवीन थापा, सभापति, सुनगाभा आञ्चलिक समिति (आग्सु)

📤 Share this story
Scroll to Top