All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #12
January 8, 2026

कोराईबारीमा सातौं वार्षिक खेलकुद सप्ताह भव्य रूपमा सुरु

📅 January 8, 2026
✍️ AAGSU
🕒 12:07 AM

तेलाम, २४ दिसेम्बर: आग्सु तेलाम आञ्चलिक समिति छेत्र अन्तर्गत कोराईबारी गोर्खा युवा क्लबको सक्रिय सहयोगमा आयोजित सातौं वार्षिक खेलकुद सप्ताह आईतबार मिति २४–१२–२०२५ देखि औपचारिक रूपमा सुरु भएको छ। कोराईबारी गोर्खा युवा क्लबको खेल मैदानमा आयोजना गरिएको यस खेलकुद सप्ताह गोरखा युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने, स्वस्थ जीवनशैलीको विकास गर्ने तथा अनुशासित, सचेत र संगठित समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यका साथ सञ्चालन गरिएको हो।
उद्घाटन कार्यक्रमको बिहानको सत्रमा मिसिङ साहित्य परिषद्का EM पादुम राई ज्यूले झण्डा फहराएर खेलकुद सप्ताहको औपचारिक उद्घाटन गर्नुभयो। उहाँको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको सहभागीहरूले प्रतिक्रिया व्यक्त गरे। झण्डा फहराइएसँगै खेल मैदानमा विभिन्न खेलकुद प्रतियोगिताहरू सुरु गरियो, जसले युवाहरूमा उत्साह र उमंग थपेको देखिन्थ्यो।
उक्त कार्यक्रममा आग्सु तेलाम आञ्चलिक समितिका सभापति श्रीमान् चन्द्र बहादुर राई, मूल-सचिव श्रीमान् राम बहादुर विश्वकर्मा, उपसभापति श्रीमान् शिवलाल रेग्मी, शिक्षा सचिव श्रीमान् तिलक थापा तथा सह–शिक्षा सचिव श्रीमान् सुर्ज क्षेत्रीको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले खेलकुदको माध्यमबाट युवाहरूमा नेतृत्व, अनुशासन र आपसी सहकार्यको भावना विकास हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको क्रममा युवाहरूले प्रस्तुत गरेको खुकुरी नृत्यले उपस्थित दर्शकहरूलाई विशेष रूपमा आकर्षित गर्‍यो। सांस्कृतिक प्रस्तुतिसँगै खेलकुदको संयोजनले कार्यक्रमलाई अझ जीवन्त र मनोरञ्जनात्मक बनाएको देखिन्थ्यो। खेलकुदप्रेमीहरू तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थितिले कार्यक्रमको रौनक थपिएको थियो।
कोराईबारी गोर्खा युवा क्लबका अध्यक्ष अर्जुन थापा र सचिव गोविन्द शर्माले सातौं वार्षिक खेलकुद सप्ताहले स्थानीय युवाहरूबीच भ्रातृत्व, एकता र आपसी सद्भावको भावना बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई सामाजिक एकता र सकारात्मक सोच निर्माणको सशक्त माध्यम भएको बताउँदै सबैलाई अनुशासित रूपमा सहभागिता जनाउन आग्रह गर्नुभयो।
सातौं वार्षिक खेलकुद सप्ताहअन्तर्गत विभिन्न खेल प्रतियोगिताहरू आगामी दिनहरूमा निरन्तर रूपमा सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्। यस प्रकारका कार्यक्रमहरूले स्थानीय प्रतिभाको पहिचान गर्दै युवाहरूलाई सही दिशामा अघि बढ्न प्रेरणा दिने विश्वास आयोजक तथा सहभागी सबैले व्यक्त गरेका छन।
प्रतिवेदन: राम बिश्वकर्मा- मूल-सचिव, तेलाम आञ्चलिक समिति (आग्सु)।

📤 Share this story
Last Story in Issue →
Scroll to Top