All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #12
January 8, 2026

असम नेपाली साहित्य सभाको ५३औँ स्थापना दिवसमा आग्सु सक्रिय सहभागिता

📅 January 8, 2026
✍️ AAGSU
🕒 12:06 AM


उदालगुरी, ६ जनवरी : असमका गोर्खा समुदायको अग्रणी बौद्धिक तथा साहित्यिक संस्था असम नेपाली साहित्य सभाको ५३औँ स्थापना दिवस उदालगुरीमा दुईदिने भव्य तथा अर्थपूर्ण कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न भयो। उक्त स्थापना दिवस कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) ओदालगुरी जिल्ला समितिको नेतृत्वमा जिल्लाअन्तर्गतका विभिन्न आञ्चलिक समितिहरूको व्यापक र संगठित सहभागिता रहनु कार्यक्रमको एक महत्वपूर्ण विशेषता बनेको थियो।
२ जनवरीको साँझ असम नेपाली साहित्य सभाको साधारण सभा सम्पन्न भएपछि ३ जनवरीको बिहान झण्डोत्तोलनसँगै ५३औँ स्थापना दिवसको औपचारिक शुभारम्भ गरियो। झण्डोत्तोलन कार्यक्रमपछि भाषा सेनानी स्वर्गीय तारापति उपाध्यायको स्मृतिमा बहुभाषिक कविगोष्ठी आयोजना गरियो। उक्त कविगोष्ठीमा नेपाली भाषासँगै असमिया, बोडो, हिन्दी, अंग्रेजी, सान्ताली, साद्री लगायत विभिन्न भाषाका विशिष्ट कविहरूले कविता पाठ गरे। यस बहुभाषिक साहित्यिक कार्यक्रममा आग्सु ओदालगुरी जिल्ला समिति तथा विभिन्न आञ्चलिक समितिका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले साहित्यिक एकता र भाषिक सहअस्तित्वको सन्देश प्रवाह गर्‍यो।


बहुभाषिक कविगोष्ठीपछि प्रतिनिधि पञ्जीकरण कार्यक्रम सम्पन्न गरियो भने उदालगुरी गौरव स्व. चन्द्रमोहन छेत्रीको स्मृतिमा आयोजित असम नेपाली साहित्य सभाको वार्षिक साधारण सभा सम्पन्न भएसँगै पहिलो दिनको कार्यक्रम समापन गरियो।
४ जनवरीको बिहान १० बजेदेखि विशेष सम्वर्धना कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा विशिष्ट समाजसेवी, साहित्यकार, भाषा सेनानी, सांस्कृतिक कर्मीहरूलाई असम नेपाली साहित्य सभाको तर्फबाट सम्मान प्रदान गरियो। साथै, लामो समयदेखि बिना पारिश्रमिक नेपाली विषय अध्यापन गराउँदै आएका शिक्षकहरूलाई पनि विशेष रूपमा सम्वर्धना गरियो।
दिउँसो १२ बजेदेखि आयोजित आम सभामा असम नेपाली साहित्य सभाका सभापति डा. चिन्तामणि शर्माको अध्यक्षता रहेको थियो। मूल-सचिव सचिव तिलक शर्माले सञ्चालन गरेको आम सभाको उद्घाटन सभाका उपदेष्टा दुर्गा खतिवडाले गर्नुभयो। स्वागत भाषण अभ्यर्थना समितिका सभापति चन्द्रिका शर्माले प्रस्तुत गर्नुभयो भने विशिष्ट वक्ताका रूपमा बङ्गाईगाँउ विश्वविद्यालयका परीक्षा नियन्त्रक भवानी प्रसाद शर्माले आफ्नो मन्तव्य राख्नुभयो।


यसै अवसरमा असम नेपाली साहित्य सभा तथा अभ्यर्थना समितिद्वारा प्रकाशित स्मारिका र सभा समाचारको विमोचन साहित्य अकादेमी पुरस्कारप्राप्त विशिष्ट साहित्यकार पुष्पधर शर्माबाट गरियो। आम सभामा विभिन्न साहित्यिक संस्था, सामाजिक संगठन तथा विशिष्ट व्यक्तित्वहरूको सहभागितासँगै आग्सुको उपस्थिति विशेष रूपमा उल्लेखनीय रह्यो। आग्सुको तर्फबाट केन्द्रीय समितिका सह सांस्कृतिक सचिव त्रिदेव विष्ट र मुखपत्र सचिव कमल डकालले कार्यक्रममा सहभागिता जनाउँदै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा विद्यार्थी संगठनहरूको भूमिकामाथि जोड दिनुभयो।
विशेषगरी आग्सु ओदालगुरी जिल्ला समितिसँगै जिल्लाअन्तर्गतका विभिन्न आञ्चलिक समितिहरूका प्रतिनिधिहरूको सामूहिक उपस्थितिले आग्सुको संगठनात्मक मजबुती, अनुशासन र सामाजिक–सांस्कृतिक प्रतिबद्धतालाई स्पष्ट रूपमा उजागर गर्‍यो। आञ्चलिक समितिहरूले यस्ता साहित्यिक तथा बौद्धिक कार्यक्रममा सहभागिता जनाउँदै भाषा र पहिचानको सवालमा सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गरे।


कार्यक्रमको अन्त्यमा अभ्यर्थना समितिका मूल सचिव मोहन कुमार छेत्रीले धन्यवाद ज्ञापन गर्दै दुईदिने स्थापना दिवस कार्यक्रम सफल बनाउन आग्सु ओदालगुरी आञ्चलिक समितिको सक्रिय सहभागिताको विशेष प्रशंसा गर्नुभयो। समग्रमा, असम नेपाली साहित्य सभाको ५३औँ स्थापना दिवस गरिमामय, प्रभावशाली र स्मरणीय बनेको छ।

प्रतिवेदन: पंकज खतिवडा- उप सभापति, उदालगुड़ी आञ्चलिक समिति (आग्सु)।

📤 Share this story
Scroll to Top