
चाउहधोवा, ५ जानुवारी: हरियाणाको पानीपतमा हालै सम्पन्न नवौँ राष्ट्रिय काराते–डो च्याम्पियनशिप २०२५–२६ मा असमको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरी स्वर्ण पदक हासिल गर्न सफल लखिमपुर जिल्लाका खेलाडीहरूलाई आज ५ जनवरीका दिन बृहत्तर बगीनदी क्षेत्रको आनन्द चिया बगानस्थित दुर्गा पूजा आयोजना स्थलमा आयोजित एक सम्मान समारोहमा अभिनन्दन गरियो। उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) चाउलधोवा आञ्चलिक समितिले विशेष पहल गर्दै सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्यो।
लखिमपुर जिल्लाको आनन्द काराते क्लबका तीनै जना खेलाडीले राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा भाग लिँदै प्रत्येकले एक–एक वटा स्वर्ण र रजत पदक हासिल गरी जिल्ला तथा क्षेत्रको नाम उज्यालो पारेका छन्। उनीहरूको यस उपलब्धिलाई कदर गर्दै आग्सु चाउलधोवा आञ्चलिक समितिले खेलाडीहरूलाई सम्मान पत्रसहित शुभकामना ज्ञापन गर्दै भविष्यमा अझ उच्च लक्ष्य प्राप्तिका लागि प्रेरणा प्रदान गर्यो।
खेलाडी पूरब सोनारले १० वर्ष मुनिको काटा विधामा प्रथम स्थान हासिल गरी स्वर्ण पदक तथा ११ वर्ष मुनिको कुमिटे विधामा द्वितीय स्थान हासिल गरी रजत पदक प्राप्त गरे। त्यस्तै, एनिशा क्षेत्रीले १३ वर्ष मुनिको कुमिटे विधामा प्रथम स्थान हासिल गरी स्वर्ण पदक र काता विधामा द्वितीय स्थान हासिल गर्दै रजत पदक जित्न सफल भइन्। अर्का खेलाडी अदित रायले १२ वर्ष मुनिको कुमिटे विधामा प्रथम स्थानसहित स्वर्ण पदक तथा काता विधामा द्वितीय स्थानसहित रजत पदक प्राप्त गरे।
सम्मान समारोहमा बोल्दै आग्सु चाउलधोवा आञ्चलिक समितिका पदाधिकारीहरूले खेलकुदले युवाहरूमा अनुशासन, आत्मविश्वास र सकारात्मक सोच विकास गर्ने उल्लेख गर्दै गोर्खा समुदायका प्रतिभाशाली विद्यार्थी तथा खेलाडीहरूलाई राष्ट्रिय मञ्चसम्म पुर्याउनु आग्सुको प्रमुख दायित्व भएको बताए। संगठनले आगामी दिनहरूमा पनि शिक्षा, खेलकुद र सामाजिक चेतनाका क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्यो।
उक्त कार्यक्रममा लखिमपुर जिल्ला वाडो काराते एसोसिएसन, विभिन्न सामाजिक संगठनका प्रतिनिधि तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। यद्यपि, कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा खेलाडी सम्मानमा आग्सु चाउलधोवा आञ्चलिक समितिको सक्रिय सहभागिताले कार्यक्रमलाई विशेष महत्व प्रदान गर्यो। आग्सुले यस अवसरमा क्षेत्रका सम्पूर्ण युवाहरूलाई खेलकुदमार्फत आफ्नो प्रतिभा उजागर गर्दै समाज र राज्यको नाम उज्यालो पार्न आह्वानसमेत गर्यो ।
प्रतिवेदन: गोबिन्द दाहाल- सभापति, चाउलधोवा आञ्चलिक समिति(आग्सु)