All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #10
December 25, 2025

अखिल असम गोर्खा छात्र संघ बङगाईगाउँ ज़िल्ला समितिको अधिवेशन पश्चात् पहिलो कार्यकारिणी सभा सम्पन्न

📅 December 25, 2025
✍️ AAGSU
🕒 12:05 PM

बङगाईगाउँ, २१ डिसेम्बर : अखिल असम गोर्खा छात्र संघ (आग्सु) बङगाईगाउँ ज़िल्ला समितिको अधिवेशन अंग्रेजी मिति ७ डिसेम्बर २०२५ का दिन सफलतापूर्वक सम्पन्न भएको थियो। सो अधिवेशनको निरन्तरता स्वरूप आज आयोजक समितिद्वारा अधिवेशनको सम्पूर्ण लेखा–जोखा सार्वजनिक गर्दै औपचारिक रूपमा आयोजक समिति भङ्ग गरिएको छ। यससँगै नवनिर्वाचित ज़िल्ला समितिले आफ्नो कार्यकालको औपचारिक सुरुआत गरेको छ।
आज सम्पन्न पहिलो कार्यकारिणी सभा बङगाईगाउँ ज़िल्ला समिति (आग्सु) का नवनिर्वाचित सभापति श्री प्रभाकर छेत्रीको अध्यक्षतामा तथा मूल–सचिवा श्रीमती बिनिता नेवारको सञ्चालनमा सम्पन्न भयो। सभामा नवगठित कार्यकारिणी सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाको प्रारम्भमा अधिवेशन सफल बनाउन सहयोग पुर्‍याउने सबै प्रतिनिधि, शुभेच्छुक तथा समाजका अग्रजप्रति धन्यवाद ज्ञापन गरिँदै आगामी दिनमा संगठनलाई अझ सशक्त र क्रियाशील बनाउने संकल्प व्यक्त गरियो।
सभामा नवगठित समितिले द्रुत गतिमा आफ्ना कार्यक्रम र योजनाहरू अघि बढाउने प्रतिबद्धता जनायो। विशेष रूपमा आगामी दिनहरूमा ज़िल्ला समितिले गर्नुपर्ने सांगठनिक तथा सामाजिक कार्यहरूबारे विस्तृत छलफल गरियो। छात्र–छात्राहरूको पठन–पाठनको अवस्था सुधार, शैक्षिक मार्गदर्शन कार्यक्रम, जनजागरण अभियान, गोर्खा समुदायसँग सम्बन्धित जातीय मुद्दाहरू, तथा संगठनलाई थप दर्बिलो र अनुशासित बनाउने विषयहरू सभाको मुख्य एजेन्डाका रूपमा उठाइएका थिए।


सभामा शिक्षा क्षेत्रमा आग्सुको भूमिकालाई अझ प्रभावकारी बनाउने, ग्रामीण तथा पिछडिएका क्षेत्रमा रहेका विद्यार्थीहरूसम्म पहुँच पुर्‍याउने, प्रतियोगी परीक्षा र बोर्ड परीक्षालाई लक्षित गरेर परामर्श तथा सहयोग कार्यक्रम सञ्चालन गर्ने विषयमा गहिरो चर्चा भयो। साथै सामाजिक सचेतना, संगठनात्मक अनुशासन, सदस्यता विस्तार र युवा नेतृत्व विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णयहरू पनि गरिए। त्यसैगरी अखिल असम गोर्खा छात्र संघ (आग्सु) को स्वर्ण जयन्ती उद्घाटन समारोहलाई सफल बनाउन बङगाईगाउँ ज़िल्ला समितिको भूमिका, तयारी तथा सहभागिताका विषयमा समेत विस्तृत विचार–विमर्श गरियो। स्वर्ण जयन्ती वर्षलाई संगठनात्मक सुदृढीकरण र समाजसेवाको वर्षका रूपमा मनाउने दिशामा ठोस कार्यक्रम तय गर्नुपर्ने आवश्यकता औँल्याइयो।
सभाको अन्त्यतिर सभापति श्री प्रभाकर छेत्रीले नवनिर्वाचित समितिले एकताबद्ध भएर विद्यार्थी हित, समाज हित र संगठनको गरिमा जोगाउँदै जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभयो। मूल–सचिवा बिनिता नेवारले सभाको निर्णयहरू कार्यान्वयनमा लैजान सबै सदस्यहरूको सक्रिय सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। यसरी अखिल असम गोर्खा छात्र संघ (आग्सु) बङगाईगाउँ ज़िल्ला समितिको पहिलो कार्यकारिणी सभा सकारात्मक वातावरणमा सफलतापूर्वक सम्पन्न भयो।

प्रतिवेदन: प्रभाकर छेत्री-सभापति, बङ्गाईगाँउ जिला समिति (आग्सु)।

📤 Share this story
Last Story in Issue →
Scroll to Top