All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #15
January 29, 2026

आग्सु केन्द्रीय सभापति श्री सुनील कुमार छेत्रीको टंला आञ्चलिक समितिमा प्रेरणादायी उपस्थिती

📅 January 29, 2026
✍️ AAGSU
🕒 12:06 AM

टंला, २३ जनवरी: अखिल असम गोर्खा छात्र संघ (आग्सु) का केन्द्रीय सभापति श्री सुनील कुमार छेत्रीको आज आग्सु टंगला आञ्चलिक समितिको मुख्य कार्यालयमा भएको उपस्थितीले सम्पूर्ण आञ्चलिक समितिमा नयाँ ऊर्जा, उत्साह र सांगठनिक चेतनाको सञ्चार गरेको छ। दुलियापारा स्थित आग्सु टंगला आञ्चलिक समितिको कार्यालयमा केन्द्रीय सभापतिको आगमनलाई संगठनात्मक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ, जसले आञ्चलिक समितिको कार्यदिशालाई थप स्पष्ट र सुदृढ बनाएको छ।
केन्द्रीय सभापति श्री सुनील कुमार छेत्रीले आञ्चलिक पदाधिकारी तथा सक्रिय कार्यकर्ताहरूसँग संगठनको वर्तमान अवस्था, चुनौती, उपलब्धि तथा भावी कार्ययोजनाका विषयमा गहिरो, सौहार्दपूर्ण र सारगर्भित छलफल गर्नुभयो। उक्त छलफलमा आग्सुलाई अनुशासित, गतिशील र जनमुखी विद्यार्थी संगठनका रूपमा स्थापित गर्न संगठनात्मक संरचना मजबुत बनाउने, कार्यकर्तामा जिम्मेवारीबोध बढाउने तथा आञ्चलिकदेखि केन्द्रसम्म समन्वय सुदृढ गर्ने विषयमा विशेष जोड दिइयो। साथै विद्यार्थीरूको सक्रिय सहभागिता, सदस्यता विस्तार, नियमित सांगठनिक बैठक, अध्ययन–संवाद कार्यक्रम, सामाजिक उत्तरदायित्वका गतिविधि तथा सांस्कृतिक पहिचान संरक्षणलाई आग्सुको प्रमुख कार्यक्षेत्रका रूपमा अघि बढाउनुपर्नेमा सहमति जनाइयो।
छलफलका क्रममा केन्द्रीय सभापति श्री सुनील कुमार छेत्रीले आग्सु केवल एउटा संगठन मात्र नभई गोर्खा विद्यार्थी समुदायको अधिकार, पहिचान र भविष्य निर्माणको सशक्त माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले संगठनात्मक अनुशासन, पारदर्शिता, निष्ठा र सामूहिक प्रयास बिना कुनै पनि आन्दोलन सफल हुन नसक्ने स्पष्ट पार्दै प्रत्येक कार्यकर्ताले संगठनलाई आफ्नै परिवारसरह मानेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। शैक्षिक क्षेत्रमा विद्यार्थीको हकहितका सवाल, सामाजिक क्षेत्रमा सकारात्मक हस्तक्षेप तथा सांस्कृतिक क्षेत्रमा गोर्खा पहिचानको संरक्षण र प्रवर्द्धनमा आग्सुले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।


उक्त अवसरमा आग्सुका कार्यालय सचिव श्री विकास शर्मा, प्रचार सचिव श्री सोमराज सोनार, सह सांस्कृतिक सचिव श्री त्रिदेव विष्ट, सूचना–प्रविधि सचिव श्री किरण खर्का, उदालगुरी जिल्ला समितिका सभापति श्री राम छेत्री, कार्यालय सम्पादक श्री राम छेत्री (कनिष्ठ), अविभाजित दरङ जिल्ला नेपाली छात्र संघका पूर्व सभापति श्री लीला मिश्र, मुख्य सल्लाहकार श्री तया उपाध्याय तथा आग्सु टंला आञ्चलिक समितिका विभिन्न तहका पदाधिकारी एवं कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिती रहेको थियो। सबै उपस्थित सदस्यहरूले केन्द्रीय सभापतिको विचार, निर्देशन र प्रेरणालाई आत्मसात गर्दै संगठनलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
आञ्चलिक समितिको तर्फबाट केन्द्रीय सभापति श्री सुनील कुमार छेत्रीप्रति हार्दिक स्वागत तथा धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा आग्सुको सांगठनिक जिम्मेवारीलाई अझ जिम्मेवार, सक्रिय, अनुशासित र जनमुखी ढङ्गले निर्वाह गर्ने दृढ प्रतिबद्धता व्यक्त गरियो। केन्द्रीय सभापतिको यो उपस्थितीले आग्सु टंगला आञ्चलिक समितिलाई भावी आन्दोलन र सांगठनिक यात्राका लागि थप आत्मविश्वासी, संगठित र लक्ष्यप्रति प्रतिबद्ध बनाएको स्पष्ट देखिएको छ।

प्रतिवेदन: संजय छेत्री-मूल सचिव, टंला आञ्चलिक समिति(आग्सु)।

📤 Share this story
Scroll to Top