
गहपुर १५ फरवरी: अखिल असम गोर्खा छात्र संघ, गहपुर आञ्चलिक समितिले आगामी २०२६ सालको उच्च तथा उच्चतर माध्यमिक परीक्षा दिने विद्यार्थीहरूलाई लक्षित गर्दै उनीहरूको वासगृहमा गएर शुभकामना प्रदान गरेको छ।
गहपुर आञ्चलिक समिति विगतदेखि नै शिक्षाको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको छ ।
यसै शैक्षिक अभियानको निरन्तरता स्वरूप प्रत्येक वर्ष उच्च तथा उच्चतर माध्यमिक परीक्षा दिने विद्यार्थीहरूको वासगृहमा पुगेर उनीहरूको अध्ययन अवस्थाबारे जानकारी लिँदै हौसला,प्रेरणा र आत्मबल प्रदान गर्ने कार्य गर्दै आएको छ।कार्यक्रमको मुख्य उद्देश्य परीक्षार्थीहरूमा आत्मविश्वास वृद्धि तथा अध्ययनप्रतिको सकारात्मक सोच सुदृढ बनाउनु तथा समाज र संगठन सदैव उनीहरूको साथमा रहेको अनुभूति दिलाउनु रहेको थियो।
यस वर्ष २०२६ को परीक्षा दिने विद्यार्थीहरूलाई शुभकामना तथा मनोबल प्रदान गर्न गहपुर आञ्चलिक समितिले गहपुर आञ्चलिक अन्तर्गत धेनुधरा, मध्य- सत्रङ, पहुकटा, डिलापोखोरा, कलाबारी आदि भेकका परिक्षार्थीहरूको घरमा ६ र ८ फरवरीमा उपस्थित भई एउटा कलम दिएर सुभेच्छा दिने कार्यक्रम सफल गरेको छ ।
अखिल असम गोर्खा छात्र संघ गहपुर आञ्चलिक समितिकोे यो पहलले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै शिक्षाप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ।
प्रतिवेदक: निरज छेत्री-प्रचार सचिव, गहपुर आञ्चलिक समिति ।