
तिनसुकिया, २३ फेब्रुअरी: तिनसुकिया जिल्ला अन्तर्गत बालुगडाका प्रतिभाशाली युवा अभिजीत छेत्रीले Assam Public Service Commission (APSC) द्वारा सञ्चालित प्रतिष्ठित प्रतियोगी परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै १२औँ स्थान हासिल गर्न सफल भएका छन्। उहाँको यस उल्लेखनीय सफलताले तिनसुकिया जिल्लासहित सम्पूर्ण गोर्खा समाजमा गर्व र उत्साहको वातावरण सिर्जना गरेको छ।
राज्यस्तरीय अत्यन्त प्रतिस्पर्धात्मक मानिने APSC परीक्षामा उच्च स्थान हासिल गर्नु कुनै सामान्य उपलब्धि होइन। हजारौं प्रतिस्पर्धीहरूबीच कडा मेहनत, निरन्तर अध्ययन र दृढ आत्मविश्वासका साथ अघि बढ्दै अभिजीत छेत्रीले यो सफलता प्राप्त गरेका हुन्। उहाँको उपलब्धिलाई जिल्लावासीले ऐतिहासिक उपलब्धिको रूपमा लिएका छन्।
यस महत्वपूर्ण सफलताको उपलक्ष्यमा अखिल असम गोर्खा छात्र संघ तिनसुकिया जिल्ला समितिले अभिजीत छेत्रीप्रति हार्दिक बधाई तथा संवर्धना व्यक्त गरेको छ। समितिका पदाधिकारीहरूले उहाँको मेहनत, अनुशासन, लगनशीलता र अटल संकल्पको उच्च प्रशंसा गर्दै यस उपलब्धिले सम्पूर्ण युवापुस्तालाई सकारात्मक सन्देश दिएको बताएका छन्।
समितिले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “अभिजीत छेत्रीको यो गौरवमय उपलब्धिले तिनसुकिया जिल्लाको नाम उज्यालो बनाएको छ। उहाँको समर्पण, निरन्तर प्रयास र लक्ष्यप्रतिको अडिग प्रतिबद्धताका कारण आज यो सफलता सम्भव भएको हो। हामी उहाँको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा अझ उच्च जिम्मेवारीका साथ समाज र राज्यको सेवा गर्न सफल हुनुहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौं।”
स्थानीय बुद्धिजीवी, शिक्षक तथा सामाजिक अगुवाहरूले समेत अभिजीतको सफलतालाई गोर्खा समाजका लागि प्रेरणादायी उपलब्धि बताएका छन्। उनीहरूका अनुसार प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्न दीर्घकालीन तयारी, आत्मअनुशासन र स्पष्ट लक्ष्य आवश्यक हुन्छ, जुन अभिजीत छेत्रीले व्यवहारमा उतारेर देखाएका छन्।
विशेषगरी APSC जस्ता प्रतिष्ठित परीक्षामा उच्च स्थान हासिल गर्नुले जिल्लाका अन्य युवाहरूलाई नयाँ ऊर्जा र हौसला प्रदान गरेको छ। अहिले प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा जुटिरहेका विद्यार्थीहरूका लागि अभिजीत छेत्री एक प्रेरणादायी उदाहरणका रूपमा स्थापित भएका छन्। उहाँको सफलताले ग्रामीण क्षेत्रका युवाहरूले पनि दृढ इच्छाशक्ति र उचित मार्गदर्शन पाएमा राज्यस्तरमै उत्कृष्टता हासिल गर्न सक्छन् भन्ने सन्देश दिएको छ।
अभिजीत छेत्रीको यस ऐतिहासिक उपलब्धिले तिनसुकिया जिल्लाको शैक्षिक र सामाजिक प्रतिष्ठालाई थप मजबुत बनाएको छ। जिल्लावासीले उहाँको सफलतालाई सामूहिक गौरवका रूपमा ग्रहण गर्दै भविष्यमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिवेदन – मिलन अधिकारी-सभापति,माकुम आञ्चलिक समिति